
प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्र भएको बताएका छन् ।
सिरहा सदरमुकाममा नेकपा (एमाले)को ११औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
राजतन्त्रका पक्षधर कस्ता हुँदा रहेछन् भन्ने कुरा यही चैत १५ गतेको उनीहरूको क्रियाकलापले स्पष्ट पारिसकेको उल्लेख गर्दै उनले नेपाली जनताले राजतन्त्रलाई नस्वीकार्ने बताए ।
'राजतन्त्र फर्किन्छ भन्ने कुरा राति देखेको सपना पनि होइन, दिउँसै देखेको सपना हो । यो कुनै काम लाग्दैन । चैत १५ गतेको उनीहरूको क्रियाकलापले त्यो सपना भङ्ग भइसक्यो,' प्रधानमन्त्री ओलीले भने, 'राजतन्त्रका पक्षधर कस्ता हुँदा रहेछन् भन्ने नेपाली जनताले देखिसके । त्यस्ताको हातमा शासन गयो भने देशमा के हुन्छ होला ? तर, जानेवाला छैन । म आम नेपाली जनतालाई ढुक्क रहन आग्रह गर्दछु ।'
व्यक्तिको घर-घरमा गएर आगो लगाउने, औषधि निर्माण कम्पनीमा आगो लगाउने, सञ्चारगृहमा आगो लगाउने, भित्र मान्छे थुनेर आगो लगाएर मार्ने, लुटपाट मञ्चाउनेजस्ता विध्वंसकारी तथा अराजक तत्वलाई कुनै हालतमा स्वीकार गर्न नसकिने प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।