
नारायणी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ स्थित ब्रिटिस क्याम्प नजिकै नारायणी नदीमा डुबेर मंगलबार साँझ दिदीभाइ बेपत्ता भएका प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गैँडाकोटका निमित्त प्रमुख, प्रहरी नायब निरीक्षक सानुकाजी विष्टले गैँडाकोट–१ का विष्णु सेर्पुञ्जाकी छोरी १३ वर्षीया दीक्षा सेर्पुञ्जा र नौ वर्षीय स्वप्निल सेर्पुञ्जा नदीमा डुबेर बेपत्ता भएको बताए ।
‘दुवै बालबालिका हजुरआमा सुनमाया कुमालसँग नदीमा गई फर्किने बेलामा हजुरआमाको चप्पल छुटेर लिन जाँदा नदीमा डुबेर बेपत्ता भएका हुन्’, उनले भने, ‘भाइ नदीमा गएपछि दिदीले उद्धार गर्न खोज्दा दिदी पनि बेपत्ता भएको जानकारी आएको छ ।’
प्रहरीसँग गोताखोर नभएकाले मंगलबारका लागि खोजीकार्य रोकिएको र बुधबार बिहानैदेखि गोताखोरको टोलीसहित खोजी गरिने प्रहरीले जनाएको छ ।