
अमाडोउ डिओपको निर्णायक गोलसँगै काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा काठमाडौंले बुटवल लुम्बिनी एफसीविरुद्ध १–० गोल अन्तरले जीत निकालेको हो ।
यस जितसँगै तेस्रो स्थानमा उक्लिएको काठमाडौंले चार खेलबाट पाँच अंक पुर्याएको छ । समान खेल खेलेको बुटवलको भने एक अंक छ । बुटवल अंक तालिकामा पुछारमा छ ।
काठमाडौंका डिओपले खेलको ८८ औं मिनेटमा गोल गरेका हुन् । भिन्सेन्ट कोजिइल्लोसँग तालमेल मिलाउँदै बक्स लाइन नजिकबाट उनले प्रहार गरेको बललाई बुटवलका गोलकिपर दीप कार्कीले बचाउन सकेनन् ।
अन्ततः काठमाडौंले खेल जित्यो । प्रतियोगितामा बुधबार पोखरा थन्डर्स र धनगढी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।