
अछामको जयगढ बजारमा भीषण आगलागी भएको छ । बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्रसमेत रहेको जयगढको मुख्य बजारमा मंगलबार साँझ एक पसलबाट शुरू भएको आगलागीबाट दुई दर्जन बढी घर जलेको प्रहरीले जनाएको छ ।
अहिले भने आगो नियन्त्रणमा आइसकेको छ ।
आगलागीबाट बजारका २७ घर जलेको अछाम प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले लोकान्तरलाई जानकारी दिए । त्यसमध्ये १२ वटा पसल रहेको उनले बताए ।
उनका अनुसार क्षतिको यकिन विवरण आइसकेको छैन । तर, अनुमानित सात करोडको क्षति भएको उनले बताए ।
ग्यास सिलिण्डरबाट सल्केको आगोले भीषण रूप लिएको उनको भनाइ छ । साँझ ७ बजेतिर लागेको आगो राति १२ बजे मात्रै नियन्त्रणमा लिइएको थियो । साघुरो गल्लीमा दलकलसमेत छिर्न नसक्दा आगो नियन्त्रणमा लिन ढिलो भएको डीएसपी भण्डारीले बताए ।