
बिमस्टेक कृषिमन्त्रीस्तरीय बैठक काठमाडौंमा शुरू भएको छ ।
बिमस्टेक सदस्य रहेका सात राष्ट्रमध्ये नेपाल र भारतसहित तीन राष्ट्रका कृषिमन्त्री बैठकमा भौतिक रूपमै सहभागी छन् भने बाँकी राष्ट्रका मन्त्रीहरूले भर्चुअल रूपमा सहभागिता जनाएका बताइएको छ ।
यसअघि सचिवस्तरीय बैठक पनि काठमाडौंमा बसेको थियो । सचिवस्तरीय बैठकले मन्त्रीस्तरीय बैठकका प्रस्ताव तय गरेको जनाइएको छ ।
मन्त्रीस्तरीय बैठकको अध्यक्षता कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिरहेका छन् । बैठकमा सदस्य राष्ट्रमा कृषिको अवस्था, चुनौती र सहकार्यमा छलफल हुने मन्त्रालयले जनाएको छ ।

बैठकलाई भारतका कृषि, किसान कल्याण तथा ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले सम्बोधन गरे ।
उनले सन् २०२५ को मे महिनामा भारतमा आयोजना गरिने वेभ्स (WAVES) सम्मेलनबारे जानकारी दिएका र बिमस्टेक सदस्य राष्ट्रहरूलाई सो सम्मेलनमा सहभागी हुन निमन्त्रणा गरेका उनको सचिवालयले जनाएको छ ।
WAVES भारत सरकारको एउटा यस्तो पहल हो जसको उद्देश्य सांस्कृतिक सम्पदाको संरक्षण गर्नुका साथै डिजिटल युगसँग सञ्जाल विस्तार गर्नु रहेको छ ।
बैठकमा मन्त्री चौहानले बिमस्टेक राष्ट्रहरूले आपसी सहकार्य र नवप्रवर्तनमार्फत् क्षेत्रीय विकास र साझा समृद्धिको मार्ग प्रसस्त गर्न सक्ने उल्लेख गरे ।