२३ जेठ २०८३, शनिबार

पाकिस्तानको सार्वजनिक पूर्वाधारमा संकट बढ्दै, जनजीवन अस्तव्यस्त

चैत २७, २०८१
काठमाडौं
पाकिस्तानको सार्वजनिक पूर्वाधारमा संकट बढ्दै, जनजीवन अस्तव्यस्त

पाकिस्तानले हालैका वर्षहरूमा सामना गरिरहेका विभिन्न संकटमध्ये सार्वजनिक पूर्वाधारको संकट एक प्रमुख समस्या बनेको छ । प्लास्टिक फोहोरको आपतकालीन अवस्था, पानीको अभाव र अव्यवस्थित शहरीकरणले देशका ठूला शहरमा वातावरणीय अराजकता बढेको छ ।

यी समस्याले जनजीवनलाई मात्र होइन, देशको आर्थिक र सामाजिक संरचनालाई समेत गम्भीर चुनौती दिइरहेका छन् ।

प्लास्टिक फोहोरको संकट

पाकिस्तानमा प्लास्टिक फोहोरको समस्या दिनानुदिन चर्किंदै गएको छ । मार्च ३० मा मनाइने अन्तर्राष्ट्रिय शून्य फोहोर दिवसको सन्दर्भमा प्रकाशित द न्यूज को एक लेखअनुसार, देशले वार्षिक रूपमा ठूलो मात्रामा प्लास्टिक फोहोर उत्पादन गर्छ ।

तर, यसको व्यवस्थापन र पुनर्चक्रणको प्रभावकारी प्रणालीको अभाव छ । कराची जस्ता शहरहरूमा सडक र नालाहरू प्लास्टिकले भरिएका छन्, जसले महामारीको जोखिम बढाएको छ ।

यो समस्याले वातावरणीय प्रदूषण मात्र नभई सार्वजनिक स्वास्थ्यमा पनि गम्भीर असर पारिरहेको छ । विशेषज्ञहरूले तत्काल कदम नचालिए यो संकटले देशको पूर्वाधार र अर्थतन्त्रलाई थप कमजोर बनाउने बताएका छन् ।

पानीको संकट

पाकिस्तान पिउने पानीको संकट झन् गहिरिँदै गएको छ । इस्लाम खबर गत मार्च २५ मा प्रकाशित भएको लेखमा पाकिस्तानले भयावह रूपमा पानीको संकट झेलिरहेको उल्लेख छ । उक्त लेखमा यसलाई 'राष्ट्रिय संकट'का रूपमा देखाइएको छ ।

सिन्ध र बलुचिस्तान जस्ता क्षेत्रमा खडेरीको खतरा बढ्दै गएको छ । ती शहरहरूमा कृषि र पिउने पानीको आपूर्ति प्रभावित भएको छ । जलस्रोतको अपर्याप्त व्यवस्थापन र पुरानो पानी वितरण प्रणालीका कारण ग्रामीण र शहरी दुवै क्षेत्रमा पानीको अभाव चर्किएको छ ।

पानी आपूर्ति प्रणालीले बढ्दो जनसंख्याको माग पूरा गर्न सकेको छैन । यसले सार्वजनिक पूर्वाधारको कमजोरीलाई उजागर गरेको छ ।

कराचीमा शहरी पूर्वाधारको संकट

पाकिस्तानको आर्थिक केन्द्र मानिने कराची यतिबेला अराजकताको पर्याय बनेको छ । द न्यूजमा प्रकाशित 'अराजकताको शहर' लेखमा ट्राफिक जाम, फोहोरको थुप्रो र बिजुली तथा पानीको अनियमित आपूर्तिले जनजीवन अस्तव्यस्त बनाएको उल्लेख छ ।

शहरको सडक, ढल र बिजुली प्रणाली दशकौंदेखि मर्मत र विस्तारको पर्खाइमा छन् । जनसंख्या वृद्धिसँगै शहरी योजना र पूर्वाधार विकासले गति लिन नसक्दा कराचीका बासिन्दाहरू आधारभूत सुविधाबाट वञ्चित छन् । यो अवस्थाले देशका अन्य शहरहरूमा पनि यस्तै संकट निम्तिन सक्ने संकेत गरेको छ ।

पूर्वाधारको अवस्था र सरकारी प्रयास

बिजनेस रेकर्डरको अर्को एक समाचारमा पाकिस्तानको सार्वजनिक पूर्वाधारको दयनीय अवस्थालाई औंल्याइएको छ । सडक, पुल र सार्वजनिक यातायात प्रणालीको अभावले देशको आर्थिक गतिविधिलाई सुस्त बनाएको छ ।

त्यस्तै, डनमा प्रकाशित मार्च ११ को समाचारले बलुचिस्तानको सडक परियोजनामा भएको ढिलाइ र भ्रष्टाचारको मुद्दालाई उजागर गरेको छ ।

सरकारले विभिन्न पूर्वाधार परियोजनाहरू घोषणा गरे पनि कार्यान्वयनमा कमजोरी र बजेट अभावले यी प्रयासहरू प्रभावकारी हुन सकेका छैनन् ।

सम्भावित समाधान

यो संकटको समाधानका लागि बहुआयामिक दृष्टिकोण आवश्यक रहेको विज्ञहरूको सुझाव छ । पहिलो, प्लास्टिक फोहोर व्यवस्थापनका लागि पुनर्चक्रण संयन्त्र र नागरिक सचेतना अभियानलाई प्राथमिकता दिनुपर्छ ।

दोस्रो, पानीको संकट समाधान गर्न जलाशय निर्माण र पुराना जल प्रणालीको मर्मतमा लगानी बढाउनु जरुरी छ ।

तेस्रो, शहरी पूर्वाधार सुधारका लागि कराची जस्ता शहरमा दीर्घकालीन योजना र प्रभावकारी कार्यान्वयनको खाँचो रहेको विज्ञहरूले बताएका छन् । त्यस्तै भ्रष्टाचार नियन्त्रण र बजेटको पारदर्शी प्रयोगले मात्र यी परियोजनाहरूलाई सफल हुन सक्नेछन् ।

 

salt training

कमेन्ट गर्नुहोस्