
स्वतन्त्र विद्यार्थी युनियनको बुधबार भएको निर्वाचनमा डोटीको घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियु प्यानलसहित विजयी भएको छ ।
जोरायल गाउँपालिका–४ मा रहेको घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी भएको निर्वाचन समिति संयोजक वासुदेव जोशीले जानकारी दिए ।
उनका अनुसार अध्यक्षमा शुरत बोहरा ६९ मत, सचिव दीपक साउदले ६५ मत र कोषाध्यक्ष कलावती बोहराले ६६ मत प्राप्त गरेका छन् ।
सदस्यहरूमा शर्मिला विक ६६, रेखा साहु ६५, धनाकुमारी कामी ६४ र कविता मगरले ६२ मत प्राप्त गरे ।
कूल ११४ जना मतदाता विद्यार्थी रहेको उक्त क्याम्पसमा जम्मा १०३ मत खसेको थियो भने समानुपातिकतर्फ अनेरास्ववियुले ६७ मत प्राप्त र नेपाल विद्यार्थी संघले ३६ मत प्राप्त गरेको घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पस निर्वाचन समितिले जनाएको छ ।