०४ असार २०८३, बिहीबार

भौतिक पूर्वाधार मन्त्री यादवको राजीनामा माग

चैत २८, २०८१
धनुषा
भौतिक पूर्वाधार मन्त्री यादवको राजीनामा माग

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेश सभा सदस्य सरोज सिंह कुशवाहाले मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवको राजीनामा मागेका छन् । बिहीबार प्रदेश सभाको चौथो अधिवेशनको २३औँ बैठकमा बोल्दै कुशवाहाले मन्त्री यादवको राजीनामा मागेका हुन् ।

कुशवाहाले सरकारका प्रतिनिधि र मन्त्री यादवको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भने, ‘मन्त्री यादवले सदनको गरिमामाथि प्रहार गरेका छन् । उनको अभिव्यक्तिले सरकारको गरिमालाई खस्काएको छ । यसबाट प्रदेश सभाका १०७ जना सांसदको गरिमामाथि पनि प्रश्न खडा भएको छ ।’

कुशवाहाले बुधबारको प्रदेश सभा बैठकमा मन्त्री यादवले तथ्यहीन र आधारविहीन शब्दहरू प्रयोग गरेको आरोप लगाए । उनले भने, ‘मन्त्री यादवको अभिव्यक्तिले सरकारको सम्मान घटाएको मात्र नभइ उनले झुटो बोलेर आम जनतालाई भ्रमित गरेका छन् । यसबाट सदन पनि दिग्भ्रमित भएको छ ।’

कुशवाहाले प्रदेशका विभिन्न योजनाहरूमा पनि मन्त्रीको असमर्थता र गलत कार्यप्रवृत्तिलाई उजागर गरेका छन् । उनले भने, ‘मन्त्री यादवले सदनमा उठेका मुद्दाहरूलाई गम्भीरतासाथ लिएका छैनन् । उनी आफ्ना कर्तव्यप्रति जिम्मेवार देखिएका छैनन् । प्रदेशका आठवटै जिल्लामा योजनाहरूको चिट्ठी मन्त्री यादवको सचिवालयमा बुझाएका छन् ।’

प्रदेश सभा सदस्य कुशवाहाले सरकारको प्रभावकारीता र नेतृत्वको अभावलाई लिएर गम्भीर चिन्ता व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्