
खानेपानीमन्त्री प्रदीप यादवले नेपालले प्राप्त गरेका सफलताको दिगोपन सुनिश्चित गर्न र नागरिकलाई सुरक्षित पानी तथा सरसफाइ प्रदान गर्न क्षेत्रीय, संस्थागत र अन्तर–निकाय समन्वय अपरिहार्य रहेको बताएका छन् ।
मन्त्रालयमा आज आयोजना गरिएको खानेपानी मन्त्रालय र इसिमोडबीचको सहकार्य सम्झौता कार्यक्रममा मन्त्री यादवले मन्त्रालयले मुलुकमा खानेपानी आपूर्ति, सरसफाइ र ढल व्यवस्थापनको क्षेत्रमा काम गरिरहेको बताए ।
उनले भने, “मन्त्रालयले खानेपानी र सरसफाइसम्बन्धी नीति निर्माण, योजना कार्यान्वयन, अनुगमन मूल्याङ्कन र समन्वयको काम गरिरहेको छ ।”
मन्त्रालय र इसिमोडले नेपालको पहाडी र तल्लो तटीय क्षेत्रका समुदायलाई सुरक्षित, दिगो र गुणस्तरीय पानी तथा सरसफाइ सेवा प्रदान गर्न साझा उद्देश्य तथा लक्ष्य पहिचान गरेको मन्त्री यादवले बताए ।
गत फागुन १९ गते नेपाल र भारत सरकारबीच पानी, सरसफाइ र फोहोर व्यवस्थापनको लागि सम्झौतामा हस्ताक्षर भएको र यही चैत २२ गते खानेपानी तथा ऊर्जा मन्त्रालयबीच पानीको उपयोगकालागि सहयोग सम्झौतामा हस्ताक्षर भएको थियो ।
कार्यक्रममा मन्त्रालयका सचिव ईञ्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्यले मन्त्रालय र इसिमोडबीच भएको सम्झौताले नेपालमा सुक्दै गएका पानीका मुललाई पुनःजीवित गरी जनतालाई खुवाउन सहज हुने विश्वास व्यक्त गरे ।