
मनाङमा टिपरको ठक्करबाट चाइनिज कामदारको मृत्यु भएको छ । टिपरको ठक्करबाट चामे गाउँपालिका–३ क्युपारमा निर्माणाधीन मनाङ–मर्स्याङदी जलविद्युत् आयोजनाका कामदार यु युन योङ्गको मृत्यु भएको हो ।
आयोजनाको (ब्यूरो सात) कम्पाउन्डभित्र काम गरिरहेको अवस्थामा १० नम्बरवाला चाइनिज टिपर ब्याक गर्ने क्रममा ५३ वर्षीय योङ्गको टाउको ठोक्किएर चोट लागेको र घाइते भएका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते भएका योङ्गको उपचारका क्रममा मृत्यु भएको हो ।
टिपरचालक दार्चुला शैलेशिखर नगरपालिका–१ बारिलका ४३ वर्षीय दशरथ खडायत प्रहरीको नियन्त्रणमा रहेका छन् । टिपरको कागजात प्राप्त नभएको र साङ्केतिक नम्बर मात्र रहेको पाइएको प्रहरीले जनाएको छ ।