२८ असार २०८३, आइतबार

दुर्गा प्रसाईंसँगै पक्राउ परे अंगरक्षक दीपक खड्का

चैत २९, २०८१
काठमाडौं
दुर्गा प्रसाईंसँगै पक्राउ परे अंगरक्षक दीपक खड्का
रातो घेरामा दुर्गा प्रसाईंका अंगरक्षक ।

काठमाडौंको तीनकुनेमा अराजक प्रदर्शन गराएर फरार दुर्गा प्रसाईंसँगै उनका अंगरक्षक दीपक खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआइजी दिनेशकुमार आचार्यका अनुसार राज्यविरुद्ध र संगठित अपराध कसुरमा प्रसाईँ र खड्कालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिइएको हो ।

उनलाई भद्रपुरबाट विमानमार्फत् काठमाडौं ल्याइँदैछ ।

चैत १५ गतेदेखि नै फरार रहेका प्रसाईँ र खड्का भागेर भारत पुगेका थिए । उनीहरूलाई आज आसाम प्रहरीको सहयोगमा झापाबाट नियन्त्रणमा लिइएको हो ।

प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली प्रसाईँ र खड्कालाई पक्राउ गर्न भारत पुगेको थियो ।

नेपाल–भारतबीच सुपुदगी सन्धि नभएकै कारण उनीहरुलाई सीमामा ल्याएर भारतीय प्रहरीेले हस्तान्तरण गरेको उच्च प्रहरी स्रोतले बतायो ।

प्रसाईंको सचिवालयले भने बिहीबार आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको सामाजिक सञ्जाल फेसबुकबाट जानकारी गराएको थियो ।

प्रसाईंमाथि चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा हिंसा भड्काएको आरोप छ ।

तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो भने दर्जनौं घर र गाडीमा तोडफोड र आगजनी गरिएको थियो ।

प्रदर्शनकारीले कोटेश्वरस्थित भाटभटेनीमा समेत लुटपाट गरेका थिए । प्रदर्शनका क्रममा प्रसाईंले बलपूर्वक प्रहरी घेरा तोड्दै भीडलाई उत्तेजित बनाएका थिए ।

तीनकुनेमा भएको राजावादी आन्दोदनका उनी मुख्य कमाण्डर हुन् । तर हिंसा चर्किएपछि उनी लगत्तै फरार भएका थिए।

त्यही घटनामा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवलशमशेर राणासहित दर्जनौं आरोपितलाई पक्राउ गरिसकेको छ।

salt training

कमेन्ट गर्नुहोस्