०९ असार २०८३, मंगलबार

यसरी सम्भव भयो दुर्गा प्रसाईंको गिरफ्तारी

चैत २९, २०८१
काठमाडौं
यसरी सम्भव भयो दुर्गा प्रसाईंको गिरफ्तारी

काठमाडौंको तीनकुनेमा प्रदर्शन हुँदाहुँदै भागेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिन प्रहरीलाई १५ दिन लाग्यो ।

नेपाल प्रहरीले प्रसाईंलाई झापाको भद्रपुरबाट पक्राउ गरेको दाबी गरिरहेको छ । तर आसाम प्रहरीको सहयोगबिना उनको गिरफ्तारी सहज थिएन ।

खुला सीमाना भएका कारणले प्रसाईं झापाबाट काँकडभिट्टाको नाका हुँदै भारत छिरे । प्रसाईंले भाग्न प्रयोग गरेको स्कोरपियो प्रहरीले यसअघि नै मोरङबाट नियन्त्रणमा लिएको थियो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट डीएसपी अनिल घिमिरेको टोलीले प्रसाईं भागेको स्कोरपियोसँगै उनलाई लैजाने गाडी धनी मुकुन्द दाहाल र सवारी चालक ईश्वर विकलाई पक्राउ गरी काठमाडौं ल्याएको थियो । उनीहरूले प्रसाईंलाई बिर्तामोडस्थित प्रसाईंकै बीएण्डसी अस्पतालमा छाडेर आफुहरू इटहरी आएको बयान दिएका थिए । प्रसाईंसँगै उनका बडीगार्ड दीपक खड्का पनि थिए ।​​

प्रसाईंले आफू नेपालमा सुरक्षित नरहेकाले भारततर्फ जाने संकेत दाहाललाई गरेका थिए । तर, भारतको कुन ठाउँ भनेर उल्लेख गरेका थिएनन् । प्रसाईंले फेसबूकमा भिडियोमार्फत आफू नेपालमै रहेको दाबी गरिरहेका थिए । तर साइबर अपराध अनुसन्धान ब्यूरोले त्यसको क्रस भेरिफाई गर्दा उनी नेपालमा नरहेको खुलेको थियो ।​​

​​प्रसाईं भारतमै रहेको निष्कर्षसहित प्रहरी टोली काँकडभिट्टा नाका हुँदै भारततर्फ लाग्यो । भारतको आसाम, सिलिगुडी हुँदै दिल्लीसम्मका भारतीय प्रहरीसँग नेपाल प्रहरीले समन्वय गर्‍यो । प्रहरीको विशेष ब्यूरोले भारतीय प्रहरीसँग निरन्तर समन्वय गरिरह्यो ।

null

प्रहरीले गत बुधबार नै प्रसाईं आसाम आसपासमा रहेको सुइँको पाएको थियो । तर, त्यहाँबाट आफैंले पक्राउ गरेर ल्याउन चुनौती देखेपछि भारतीय प्रहरीको सहयोग माग्यो । उता प्रसाईंले आफू पक्राउ पर्ने निश्चित भएपछि बिहीबार आसाम प्रहरीमा गिरफ्तारी दिए । यो सूचना चारैतिर फैलियो ।​ 

बिहीबार राति गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक दीपक थापा र विशेष ब्यूरोका प्रमुख डीआइजी सिद्धिविक्रम शाहले छलफल गरे । शुरूमा प्रसाईंलाई भारतीय प्रहरीले नेपालको नाकामा ल्याएर छाड्ने र त्यहाँबाट नेपाल प्रहरीले पक्राउ गरेर ल्याउने तय भयो । सोही सल्लाह बमोजिम प्रहरी शुक्रबार बिहान काँकडभिट्टा नाकामा पुग्यो र प्रसाईंसँगै उनका बडीगार्ड खड्कालाई पक्राउ गरेर ल्यायो ।​ 

सडक मार्गबाट काठमाडौं ल्याउँदा अर्को तनाव हुनसक्ने देखिएपछि दुवै जनालाई विमानमार्फत काठमाडौं उतारियो ।

प्रहरी मुख्यालयका एक उच्च अधिकृतले लोकान्तरसँग भने, ‘भारतीय प्रहरीको सहयोग नभएको भए प्रसाईंको गिरफ्तारी सहज थिएन ।’

ति अधिकृतका अनुसार भारतबाट अपराध गरेर नेपालमा लुकेर बसेका अपराधीहरूलाई पनि एउटा समझदारीमा नेपालबाट पक्राउ गरेर सीमा क्षेत्रमा छाड्ने र भारतले पनि नेपालबाट अपराध गरेर उता पुगेकालाई भारतमा पक्राउ गरेर नेपाली सीमामा बुझाउने चलन पहिल्यैदेखिको हो । 

नेपालमा अपराध गरेर भाग्न सजिलो भारत र भारतमा अपराध गरेर भाग्न सजिलो थलो नेपाल रहँदै आएको विभिन्न घटनाक्रमले पुष्टि गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्