हिमाली जिल्ला जुम्लामा पाठ्यपुस्तक पुगेको छ । शैक्षिक सत्र शुरू नहुँदै जुम्लामा यस वर्ष समयमै पाठ्यपुस्तक पुगेको हो ।
देशभर नयाँ शैक्षिक सत्र वैशाख १ गतेदेखि शुरू हुने गर्दछ । हिमाली जिल्लामा केही वर्ष पहिले फागुनदेखि नयाँ शैक्षिक सत्र शुरू हुने गर्दथ्यो । दुई शैक्षिक सत्रअघिदेखि जुम्लामा वैशाखदेखि नै शुरू हुने गरेको छ ।
यस वर्ष शैक्षिक सत्र शुरू हुनुअगावै जिल्लामा पाठ्यपुस्तक आइपुगेको सदरमुकाम खलंगा बजारमा रहेको सन्ध्या स्टेशनरीका सञ्चालक सुमन खड्काले जानकारी दिए ।
नयाँ शैक्षिक सत्रका लागि जिल्लामा गत चैत १७ गते पाठ्यपुस्तक पुगेको छ । ‘कक्षा १–५ सम्मको एक हजार ५०० सेटको र कक्षा ६–१० सम्मको दुई हजार प्रतिसेटमा पाठ्यपुस्तक आइपुगेको छ, यहाँका आठ स्कूलले पाठ्यपुस्तक लिएका छन् । अझै विद्यालयबाट माग आउँदै छ’, खड्काले भने, ‘आन्दोलनका कारण शिक्षक बाहिर छन्, अहिले कमै मात्र बिक्री भइरहेको छ, स्कूल खुलेपछि पाठ्यपुस्तक लिनेको संख्या बढ्छ होला ।’
यहाँका सामुदायिक विद्यालयलाई जीपी स्टेशनरी र सन्ध्या स्टेशनरीले पाठ्यपुस्तक बिक्री–वितरण गर्दै आएका छन् । यस्तै, कनकासुन्दरीको दर्पण स्टेशनरी, सिँजाको कर्णाली र तिलाको दीपकैलाश स्टेशनरीले पाठ्यपुस्तक बिक्री–वितरण गर्दै आएका छन् ।
जिल्लाभर करिब १४५ सामुदायिक विद्यालय रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।