
हनुमान जयन्तीका अवसरमा शनिबार निकालिएको शोभायात्राका क्रममा उत्पन्न विषम परिस्थिति नयाँ वर्ष वीरगञ्जमा प्रभावित भएको छ ।
गत चैत ३० गते हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्रा दुई समूहबीचको झडपपछि नियन्त्रणका लागि लगाइएको निषेधआज्ञा (कफ्र्यू)आदेशको कारणले वीरगञ्जवासीको नयाँवर्ष अन्य वर्षको जस्तै मनाउन पाएनन् ।
नयाँ वर्ष लक्षित गरेर वीरगञ्ज महानगरले आयोजना गरेको रात्रि बजार पनि निषेधआज्ञाको कारणले शनिबार र आइतबार दुई दिन सञ्चालन नपाएपछि स्थगित गरिएको छ । होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साकाका अध्यक्ष हरि पन्तले वीरगञ्जमा उत्पन्न भएको विषम परिस्थितिको कारणले ‘बुकिङ’ भएका होटल पनि धमाधम खाली भएको जानकारी दिए ।
‘‘नयाँवर्ष मनाउन आएका भारतीय पाहुना पनि निषेधआज्ञाको कारणले होटल छाडेर फर्किनुभएको छ,’’ उनले भने,‘‘ नयाँ वर्ष मनाउन आएका पाहुनापछि एकाएक छाडेर जाँदा यहाँको पर्यटन व्यवसायी झनै धरासायी हुने अवस्थामा पुगेको छ ।’’ अध्यक्ष पन्तले नेपाली नयाँ वर्षको ‘इभ’ तथा नयाँवर्षको दिन वीरगञ्जका होटल भारतीय पाहुना तथा स्वदेशी पर्यटकले भरिभराउ हुने गर्दथ्यो । तर,अहिले भने निषेधआज्ञा आदेशको कारणले कोही पनि व्यक्ति घरबाट निस्किन पाइरहेका छैनन् । नयाँ वर्षको पूर्वसन्ध्यामा निषेधआज्ञा) चैत ३० गते बेलुका ६.३० बजेदेखि चैत ३१ गते रातको १२ बजेसम्म निरन्तर रुपमा निषेधआज्ञा जारी भएको थियो ।
उनले नयाँ वर्षको पूर्वसन्ध्यामा वीरगञ्जका होटल ५५ प्रतिशत ‘अंकुपेन्सी’ भएको भए पनि अहिले पहुना होटल खाली गरेर छाडेर गएको दाबी गरे ।
वीरगञ्ज बजार क्षेत्रमा मात्रै साना ठूला गरेर ८५ भन्दा धेरै होटल तथा लज रहेका छन् ।
वीरगञ्जमा करिब १० अर्ब भन्दा धेरै लागतमा तारे तथा अन्य होटल सञ्चालनमा रहेका छन् ।