
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिको बचाउ गर्न आइतवार ट्रम्प प्रशासनका अधिकारीहरू विभिन्न टेलिभिजनमा व्यापक रूपमा देखिए ।
गत साता अमेरिकी शेयर बजारमा ठूलो गिरावट आएको थियो, जसले ट्रम्प प्रशासनलाई केही कठोर ट्यारिफ फिर्ता लिन बाध्य बनायो ।
ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म 'ट्रुथ सोसल'मा लेख्दै कुनै पनि वस्तुमा ट्यारिफ छुट नदिने बताए ।
उनले चिनियाँ उत्पादनहरू जस्तै स्मार्टफोनलाई छुट दिइएको भन्ने समाचार अस्वीकार गर्दै भने, 'यी उत्पादनहरू २०% फेन्टानिल ट्यारिफअन्तर्गत पर्छन् र तिनीहरूलाई अर्को ट्यारिफ ‘बकेट’ मा मात्र सारिएको हो ।'
यद्यपि ट्रम्पका सल्लाहकारहरूले आत्मविश्वास देखाउँदै ट्यारिफलाई राष्ट्रिय सुरक्षाको आवश्यकता र अमेरिकी उद्योग पुनःस्थापनाका लागि रणनीतिक उपकरणको रूपमा प्रस्तुत गरे । तर, ट्रम्पका विभिन्न वक्तव्यहरू र अधिकारीहरूको फरक-फरक व्याख्याले नीति स्पष्ट नभएको संकेत गर्छ ।
ट्यारिफको उद्देश्य: राष्ट्रिय सुरक्षा वा व्यापार वार्ता?
वाणिज्य सचिव हावर्ड लुटनिकले सीबीएसलाई दिएको अन्तर्वार्तामा ट्यारिफलाई 'राष्ट्रिय सुरक्षा'सँग जोड्दै भने, 'अब हामी आफैं औषधि, जहाज वा पर्याप्त स्टील र एलुमिनियम उत्पादन गर्न सक्दैनौं ।'
उनले युद्धका सन्दर्भमा सम्भावित खतराहरूको चर्चा गरे ।
त्यहीबेला ह्वाइट हाउसका व्यापार सल्लाहकार पिटर नवारोले भने ट्यारिफलाई व्यापार वार्ताका लागि दबाबको रूपमा चित्रित गरे । उनले विश्वका मुलुकहरूले दशकौंयता अमेरिकालाई 'धोका दिएको' आरोप लगाउँदै सस्तो मूल्यमा सामान डम्प गर्ने, मुद्रा हेरफेर गर्ने र अमेरिकी कृषि तथा गाडीहरूमा अवरोध गर्नेजस्ता अभ्यासको आलोचना गरे ।
चीनसँग सम्बन्धित ट्यारिफको प्रसंगमा उनले भने, 'चीनले आफ्नो फेन्टानिलबाट १० लाखभन्दा बढी अमेरिकी मारेको छ ।'
गत हप्ता ट्रम्प प्रशासनले ९ अप्रिलदेखि लागू हुने ट्यारिफले अन्य देशहरूलाई वार्ताका लागि बाध्य पार्ने दाबी गर्यो । ह्वाइट हाउस आर्थिक सल्लाहकार केभिन हैसेटले ५० भन्दा बढी देशले सम्पर्क गरेको बताए पनि कुनै नाम खुलाएनन् ।
तर, आइतबार नवारोले बेलायत, युरोपियन युनियन, भारत, जापान, दक्षिण कोरिया, इन्डोनेसिया र इजरायलसँग वार्ता भइरहेको बताए । अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले ९० दिनभित्र ठोस सम्झौता गर्ने लक्ष्य रहेको बताए ।
चीनसँग भने अझै वार्ता शुरू भएको छैन । 'हामी वार्ताको अपेक्षा गर्छौं,' ग्रियरले भने । ट्रम्पले चीनलाई 'शत्रुतापूर्ण व्यापार राष्ट्र' भन्दै तीव्र आलोचना गर्दै आएका छन् ।
धेरै प्रकारका सन्देश,तर एकनासको आत्मविश्वास
आर्थिक बजारमा निरन्तर गिरावट देखिए पनि ट्रम्पका सल्लाहकारहरू आशावादी देखिए । नवारोले भने, 'यो सब हामीले सोचेजस्तै हुँदैछ ।' हावर्ड लुटनिकले भने प्रशासनको ध्यान उच्च-प्रविधिका रोजगारी अमेरिका फर्काउनेमा केन्द्रित रहेको बताए ।
उनी जुत्ताजस्ता कम दक्षतायुक्त उत्पादनहरूबारे भने चुप लागे । जबकि ट्रम्पले हाल छुट दिएका उत्पादनहरू यिनै उच्च-प्रविधि क्षेत्रका हुन्, जसलाई उनीहरू अमेरिका फर्काउन चाहन्छन् ।
केभिन हैसेटले भने, 'सर्वेक्षणले जनतालाई केही तनाव भएको देखाएको छ । तर, रोजगारीसम्बन्धी तथ्याङ्क बलियो देखिएको छ ।'
ट्रम्प प्रशासनले आफ्नो ट्यारिफ नीतिलाई कहिले राष्ट्रिय सुरक्षाको आवश्यकताका रूपमा, कहिले चीनविरुद्धको दबाबका रूपमा, त कहिले व्यापार वार्ताको रणनीति भनेर चित्रण गर्दै आएको छ ।
तर, नीति अस्पष्ट र परिवर्तनशील देखिनुका साथै ट्रम्पका विभिन्न वक्तव्यले भ्रमको स्थिति पनि सिर्जना गरिरहेको छ ।