
आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्ष मुलुकभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ ।
वर्षको पहिलो दिनमा धेरैजसोले मठमन्दिरमा गई पूजा आराधना गरेका छन् ।
आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरू गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिनका रूपमा मनाउने प्राचीन कालदेखिको परम्परा छ ।
हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गरेका छन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथी सङ्गति तथा इष्ट मित्रसँग सामाजिक सञ्जाल वा फोन सम्पर्कबाट भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गरी नयाँ वर्ष मनाइएको छ ।
विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाएका छन् । साथीभाइ एवं इष्ट मित्रसँग भेटघाट गर्ने, मठ मन्दिर, उद्यान, स्मारक जस्ता स्थलमा सामूहिक वनभोज गरी नयाँ वर्ष मनाएको दृश्य आज दिनभरि देखिए ।
सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको राष्ट्रिय धर्मसभाका अध्यक्ष प्राडा माधव भट्टराई बताउँछन् ।
सूर्य मेष राशिमा प्रवेश गर्दा शुरू भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरू हुने भएकाले वैज्ञानिक रहेको विद्वानहरूको भनाइ छ ।
सौरमान र चान्द्रमानको समन्वय पनि विक्रम संवत्मा भएको छ । कलि युग शुरू भएको तीन हजार ४६ वर्षपछि विक्रम संवत् आरम्भ भएको हो ।