
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०८२ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना दिँदै देश निर्माणका लागि गम्भीर राष्ट्रिय आत्मसमीक्षा आवश्यक रहेको उल्लेख गरेकी छन्।
नयाँ वर्षको शुभकामना सन्देशमार्फत भण्डारीले विगतका असमझदारी, तिक्तता र निराशालाई भुल्दै समृद्ध नेपाल निर्माणतर्फ सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिइन्। उनले नेपाली जनताले शदियौँदेखि भोग्दै आएको सामन्ती शोषणको विरुद्धमा गरिएको संघर्ष र बलिदानको स्मरण गर्दै त्यो सम्पूर्ण प्रयासहरू अझै अधूरो रहेको संकेत गरिन्।
“हामीले व्यवस्था र संविधान त बदल्यौँ, तर अवस्था बदल्ने सपना अझै अपुरो छ,” पूर्वराष्ट्रपतिले भनिन्, “अब केवल सहानुभूति बटुल्ने समय छैन, इमान्दार आत्मसमीक्षा र निरन्तर प्रयासको खाँचो छ।”
भण्डारीले जननेता मदन भण्डारीको विचार र सपना सम्झाउँदै उनले ‘जनताको बहुदलीय जनवाद’ को प्रभावकारी कार्यान्वयनमार्फत मात्र देशको समुन्नति सम्भव हुने विश्वास व्यक्त गरिन्। उनले निजी स्वार्थ र लोभभन्दा माथि उठेर राष्ट्र र जनताको सेवामा समर्पित हुन सबै नेताहरूलाई आह्वान गरिन्।
उनले भनिन्, “राष्ट्रहितभन्दा महत्वपूर्ण अरू केही हुँदैन र जनताको मुहारमा मुस्कान ल्याउनुभन्दा ठूलो खुसी केही हुन सक्दैन।”
देशमा स्थिरता, सुशासन र समावेशी विकास कायम गर्न नसक्दा उत्पन्न भएको निराशाप्रति चिन्ता व्यक्त गर्दै उनले कृषिको आधुनिकीकरण, उद्योग विस्तार, बेरोजगारी न्यूनीकरण र कर्मचारी प्रशासनको जवाफदेहिता सुनिश्चित गर्न सरकार र सरोकारवालाहरूले गम्भीरता देखाउनुपर्नेमा जोड दिइन्।
नयाँ वर्षलाई समृद्धिको द्वार खुल्ने अवसरका रूपमा लिन आग्रह गर्दै भण्डारीले भनिन्, “यो नयाँ वर्ष नवीन आशा र विश्वासको दियो बाल्ने वर्ष बन्नुपर्छ।”