०५ साउन २०८३, मंगलबार
सम्पन्न देशमा जघन्य अपराध

बेलायत हल्लाइरहेको बाल यौन दुराचारको एउटा भयानक घटना, ७ वर्षसम्म किन कसैले थाहा पाएन ?

बैशाख २, २०८२
काठमाडौं
बेलायत हल्लाइरहेको बाल यौन दुराचारको एउटा भयानक घटना, ७ वर्षसम्म किन कसैले थाहा पाएन ?

बेलायत अधीनस्थ स्कटल्यान्डको ग्लास्गोमा ७ जना पुरुष र महिलाको एक संगठित समूहले साना बालबालिकामाथि गरेको यौन दुराचारबारे सरकार ७ वर्षसम्म बेखबर रहेको थियो ।

यो समूहलाई बेलायतको सबैभन्दा खराब 'पेडोफाइल समूह' मध्ये एक मानिन्छ । यो अपराध सन् २०१२ मा शुरू भएको थियो र २०१९ सम्म चलेको थियो । स्काइन्यूजले ७ वर्षसम्म यस्तो अपराध चलिरहँदा पनि सरकार किन बेखबर रह्यो भन्दै एउटा समाचार टिप्पणी प्रकाशन गरेको छ ।

उक्त टिप्पणीअनुसार यो समूहले आफ्ना अपराध लुकाउन र सञ्चालन गर्न ड्रग्स तथा सामाजिक सञ्जालको प्रयोग गर्‍यो । उनीहरूले बालबालिकालाई ललाइफकाइ गरेर, डर देखाएर र नियन्त्रणमा राखेर यौनशोषण गरेका थिए ।

स्कटल्यान्डको सबैभन्दा ठूलो शहर ग्लास्गोमा यस्तो जघन्य अपराध लामो समयसम्म भइरहन कसरी सम्भव भयो ? सामाजिक कार्यकर्ता, प्रहरी र बाल संरक्षण सेवाहरूको नजरबाट यस्तो अपराध कसरी ओझेल पर्न सक्यो ? यी प्रश्नहरू अहिले विश्वव्यापी रूपमा उठेका छन् ।

यसरी भयोअपराधको खुलासा

७ वर्षसम्म निर्धक्क चलिरहेको यो अपराधको खुलासा एक पीडित बालिकाले आफूमाथि भएको दुराचारको बारेमा प्रहरीलाई बताएपछि भएको थियो ।

उनको साहसले अनुसन्धानको ढोका खोल्यो । प्रहरीले सन् २०१९ मा 'अपरेशन सेराटो' शुरू गर्‍यो, जसले यो समूहको कालो कर्तुतलाई बाहिर ल्यायो ।

उक्त अनुसन्धान प्रतिवेदनका अनुसार यो समूहले साना बालबालिकालाई ड्रग्स दिएर, उनीहरूलाई यौन कार्यका लागि बाध्य पार्ने गर्थ्यो ।

यसका लागि उनीहरूले सामाजिक सञ्जालको भरपूर दुरुपयोग गरे । बालबालिकासँग सम्पर्क गर्न उनीहरूले स्न्यापच्याट, इन्स्टाग्राम, फेसबूक, व्हाट्सएप, टेलिग्राम, भाइबरजस्ता सामाजिक सञ्जाल प्लेटफर्म प्रयोग गरेका थिए । समूहका सदस्यहरूले एकअर्कासँग समन्वय गर्न पनि यिनै प्लेटफार्म प्रयोग गर्ने गरेको अनुसन्धानले देखाएको छ ।

को थियो समूहको नाइके ?

यो समूहमा सातजना व्यक्ति थिए, जसमा पुरुष र महिला दुवै समावेश थिए । उनीहरूको उमेर २० देखि ४० वर्षसम्मको थियो । यी व्यक्तिहरूले सामान्य जीवन बिताइरहेको देखिन्थ्यो, तर उनीहरूको कर्तुत कसैले सोच्नसम्म नसक्ने खालको थियो ।

समूहको मुख्य योजनाकार इयान ओवेन्सले बालबालिकालाई डर देखाएर नियन्त्रण गर्ने काम गर्दथ्यो । त्यस्तै समूहकी एलेन लेननले बालबालिकाहरूलाई आफ्नो घरमा ल्याएर शोषण गर्ने गरेको फेला परेको छ । जोन क्लार्कले ड्रग्स आपूर्ति गर्ने गर्दथ्यो, जसको प्रयोगले बालबालिकालाई बेहोस बनाउने गर्दथ्यो ।

त्यस्तै, समूहको अर्को सदस्य पल ब्रानिगनले सामाजिक सञ्जालमार्फत बालबालिकासँग सम्पर्क गर्ने जिम्मेवारी पाएको थियो भने लरेन्स लीको काम अपराधलाई लुकाउन हरसम्भव प्रयास गर्नु थियो ।

मार्क डफी यौन दुराचारमा प्रत्यक्ष संलग्न भेटिएको छ भने जेम्स पल पनि समूहमा सक्रिय रहेर प्रत्यक्ष अपराधमा जोडिने गर्दथ्यो ।

यिनीहरूलाई २०२३ मा ग्लास्गो हाई कोर्टले दोषी ठहर गर्‍यो । अदालतले उनीहरूलाई विभिन्न अपराधका लागि १०० वर्षभन्दा बढीको जेल सजाय सुनाइएको छ ।

प्रणालीको कमजोरी

अनुसन्धानले सामाजिक सेवा, प्रहरी र बाल संरक्षण प्रणालीमा गम्भीर कमजोरी रहेको देखाएको छ । केही पीडित बालबालिकाहरू सामाजिक कार्यकर्ताको निगरानीमा रहेको तर, उनीहरूको अवस्था बुझ्ने प्रयास नभएको अनुसन्धानले खुलासा गरेको छ ।

केही बालबालिकाहरू जोखिममा भएको संकेत हुँदा पनि सामाजिक कार्यकर्ताहरूले तत्काल कारबाही अघि बढाएका थिएनन् भने शुरूमा आएका केही उजुरीलाई प्रहरीले गम्भीरतापूर्वक नलिएको पाइएको थियो ।

बाल संरक्षणमा सरकारका विभिन्न निकायहरूबीच समन्वय हुन सकेको थिएन भने सूचना आदानप्रदानको कमीले अपराध लामो समयसम्म लुक्न सक्यो । स्कटल्यान्ड सरकारले यो मामिलाको स्वतन्त्र समीक्षा गर्ने घोषणा गरेको छ । यो समीक्षाले यस्ता अपराधहरू रोक्न प्रणालीमा के सुधार आवश्यक छ भन्ने कुरा पत्ता लगाउने अपेक्षा गरिएको छ ।

पीडितको अवस्था

उक्त समूहले साना बालबालिकालाई निशाना बनाउँथ्यो । धेरै बालबालिका १० वर्षभन्दा कम उमेरका थिए । अहिले उनीहरू गम्भीर शारीरिक र मानसिक क्षतिबाट गुज्रिरहेका छन् । यी बालबालिकाको भविष्य सुनिश्चित गर्न मनोवैज्ञानिक सहायता र पुन:स्थापन कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता सरकारले गरेको छ ।

'यो कुरा सुन्दा जो कोहीको पनि मन रुन्छ,' एकजना सामाजिक कार्यकर्ताको भनाइ उदृत गर्दै स्काई न्यूजले लेखेको छ, 'यी बालबालिकाले यस्तो दुख भोग्नुपर्ने थिएन । हामीले उनीहरूलाई सुरक्षित राख्न सकिरहेका छैनौं भने हाम्रो प्रणालीको के अर्थ ?'

कसरी भयोसामाजिक सञ्जालको दुरुपयोग?

यो समूहले सामाजिक सञ्जाललाई बालबालिकाहरूसँग सम्पर्क गर्न र उनीहरूलाई फसाउन प्रयोग गरेको थियो । स्न्यापच्याट, इन्स्टाग्राम र अन्य प्लेटफर्महरूमा उनीहरूले नक्कली प्रोफाइल बनाएर बालबालिकालाई लोभ्याउँथे । सामाजिक सञ्जालको यस्तो दुरुपयोगले उनीहरूको जिम्मेवारीमाथि पनि प्रश्न उठाएको छ ।

'हामीले सामाजिक सञ्जाल प्लेटफर्मलाई अझ कडाइका साथ नियमन गर्नुपर्छ,' बाल संरक्षण विशेषज्ञ डा. सारा नेल्सनले भनिन्, 'यी प्लेटफर्महरू अपराधीहरूका लागि सजिलो औजार बनेका छन् ।'

सामाजिक सञ्जालमार्फत सम्पर्कमा आउने बालबालिकालाई नियन्त्रण नियन्त्रण गर्न ड्रग्सको प्रयोग गरिन्थ्यो । उनीहरूलाई कोकेन, हिरोइन र अन्य नशालु पदार्थ दिएर लतमा पारिन्थ्यो । ड्रग्सको लतमा परेका बालबालिका समूहको नियन्त्रणमा रहन्थे र उनीहरूमाथि शोषण गर्न सजिलो हुन्थ्यो ।

ड्रग्सको यो प्रयोगले ग्लास्गोमा नशालु पदार्थको अवैध कारोबारको समस्यालाई पनि उजागर गरेको छ । घटनाको खुलासा भइसकेपछि प्रहरीले ड्रग्स आपूर्तिकर्ताविरुद्ध कडा कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।

आफ्ना छोराछोरीको सुरक्षालाई लिएर अविभावक चिन्तित

यो घटनाले ग्लास्गो र समग्र स्कटल्यान्डमा ठूलो तरंग ल्याएको छ । अभिभावकहरू आफ्ना बालबालिकाको सुरक्षाप्रति चिन्तित छन् । स्थानीय समुदायमा सामाजिक सेवाप्रति विश्वास घटेको छ । धेरैले यस्ता अपराध रोक्न कडा कानून र प्रभावकारी अनुगमनको माग गरेका छन् ।

'हाम्रा बालबालिकाहरूलाई सुरक्षित राख्नु हाम्रो पहिलो दायित्व हो,' ग्लास्गो सिटी काउन्सिलका प्रवक्ताले भनेका छन्, 'हामी यो घटनाबाट पाठ सिकेर प्रणालीलाई बलियो बनाउनेछौं ।'

यो मामिलाले बेलायतको बाल संरक्षण प्रणालीमा गम्भीर सुधारको आवश्यकता देखाएको छ । घटनापछि विशेषज्ञहरूले सामाजिक कार्यकर्तालाई थप तालिम र स्रोत प्रदान गर्नुपर्ने, प्रहरी र सामाजिक सेवाबीच राम्रो समन्वय हुनुपर्ने, सामाजिक सञ्जाल प्लेटफर्ममा कडा निगरानी राख्नुपर्नेजस्ता सुझावहरू दिएका छन् ।

स्कटल्यान्ड सरकारले यो समीक्षालाई प्राथमिकतामा राखेको छ र सन् २०२६ सम्ममा नयाँ नीतिहरू लागू गर्ने योजना बनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्