
काठमाडौँ । सरकारले बजेट अधिवेशनमार्फत शिक्षकहरूको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । शिक्षकको मागसमेत सम्बोधन गर्ने प्रयोजनका लागि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते बजेट अधिवेशन आह्वान गर्नेगरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
मंगलबारको बैठकपछि शिक्षामन्त्री विद्या भट्टराईले संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसद्को अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय भएको बताइन् ।
यसका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद बैठकको आह्वान गर्न सिफारिस भएको उनको भनाइ छ ।
उनले नेपाल शिक्षक महासंघले उठाएका मागहरूको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको बताउँदै अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको जानकारी दिइन् । यथोचित मागको सम्बोधन गर्न सरकार तयार उनको मन्त्री भट्टराईको भनाइ छ ।
यस्तै सरकारले शिक्षकको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हाल विद्यार्थी भर्नाको समय एसइईको उत्तर पुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी कार्यक्षेत्रमा फर्किन सरकारले शिक्षकहरूलाई आग्रह गरेको छ ।