
विगतमा सरकारसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै राजधानी केन्द्रित शिक्षकहरूको आन्दोलन १५ औं दिनमा पुगेको छ ।
नेपाल शिक्षक महासङ्घको नेतृत्वमा राजधानी केन्द्रित आन्दोलन प्रत्येक दिन बिहान ११ बजे माइतीघर–बबरमहलमा भेला भई जिल्लागत रूपमा ब्यानरसहित जुलुस प्रदर्शन, सडकमै भाषण, गीतसङ्गीत र नाचगानमा परिणत हुने गरेको छ ।
जुलुस तथा सडकमै भाषण आन्दोलनरत शिक्षकको दिनचर्या नै बनिसकेको छ ।
शिक्षकहरूको आन्दोलनले राजधानीको मध्य भाग बबरमहल, बानेश्वर क्षेत्रको सवारी आवागमन अस्तव्यस्त बन्ने गरेको छ ।

शिक्षकहरूको आन्दोलनले विद्यार्थी भर्ना अभियानसमेत प्रभावित बनेको छ ।
सरकारले यही वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको तयारी गरे पनि शिक्षक आन्दोलनमा हुँदा भर्ना अभियान प्रभावित बनेको हो ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासङ्घको नेतृत्वमा गत चैत २० गतेदेखि शिक्षकले सडक आन्दोलन गरिरहेका छन् । महासङ्घले शैक्षिक हड्तालसमेत घोषणा गरेको छ ।
उक्त हड्तालको समर्थनमा विभिन्न सामुदायिक विद्यालयले सूचना जारी गर्दै शिक्षक महासङ्घको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै विद्यालयमा सबै शैक्षिक गतिविधि बन्द गरेको जानकारी गराएका छन् ।


