
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ५०औं दीक्षान्त समारोहका लागि गाउन लिन जम्मा गरिएको धरौटी रकम अनलाइनमार्फत फिर्ता गर्न सकेको छैन ।
पटक–पटक बैंकमार्फत् कनेक्ट आईपीएस प्रणाली प्रयोग गरेर रकम फिर्ता गर्ने प्रयास गरिए पनि विभिन्न कारणले केही विद्यार्थीको रकम फिर्ता हुन नसकेको त्रिविले जनाएको छ।
धरौटी रकम फिर्ता हुन बाँकी रहेका विद्यार्थीहरूलाई यही वैशाख १५ गतेभित्र बैंक खाता र व्यक्तिगत विवरण बुझाउन त्रिविले आग्रह गरेको छ।
परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै लेखा शाखाले तयार गरेको निवेदनको ढाँचा अनुसार आफ्नो नाम, थर, बैंकको नाम, शाखा र खाता नम्बर स्पष्ट रूपमा उल्लेख गरी विवरण बुझाउन भनेको छ ।
‘तोकेको समयभित्र निवेदन प्राप्त नभई रकम फिर्ता नभएमा उक्त रकम यस कार्यालयको आम्दानीमा बाँधिने समेत जानकारी गराइन्छ’, परीक्षा नियन्त्रकले जारी गरेको सूचनामा भनिएको छ ।
