
तनहुँको शुक्लागण्डकी नगरपालिका–७ टुडा जाने बाटोमा टाउकोमा चोट लागेको अवस्थामा मृत फेला परेका एक पुरुषको हत्या गरिएको पुष्टि भएपछि प्रहरीले तीन आरोपीलाई पक्राउ गरेको छ।
घटनामा संलग्न रहेको आरोपमा शुक्लागण्डकी नगरपालिका–७ टुडाका २१ वर्षीय अमन गुरुङ, शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराका १८ वर्षीय रूपेश क्षेत्री र व्यास नगरपालिका–१२ छिर्कनेका १८ वर्षीय विजय गौतमलाई पक्राउ गरिएको तनहुँका डीएसपी अशोक थापाले जानकारी दिए ।
पक्राउ परेका तीनै जनालाई तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमतिसहित हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनले बताए ।
वैशाख १ गते बिहान करिब ६:३० बजे व्यास नगरपालिका–१२ स्थायी घर भई हाल भिमाद नगरपालिका–८ मा बसोबास गर्दै आएका ५५ वर्षीय मंगल गिरी मृत अवस्थामा फेला परेका थिए ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानपछि गिरीको हत्या ढुंगाले टाउकोमा प्रहार गरी गरिएको पुष्टि भएको जनाएको छ। आरोपीलाई प्रहरीले २४ घण्टाभित्रै पक्राउ गर्न सफल भएको छ ।