२६ जेठ २०८३, मंगलबार

सुर्खेतको बुलबुले तालको क्षेत्रफल बढाइँदै

बैशाख ४, २०८२
सुर्खेत
सुर्खेतको बुलबुले तालको क्षेत्रफल बढाइँदै

डिभिजन जलाधार व्यवस्थापन कार्यालय सुर्खेतले बुलबुले तालको गुरुयोजना अनुसार आगामी असार १० गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने भएको छ । बुलबुले ताललाई प्रदेश सरकारले विगत पाँच वर्षदेखि निरन्तर बजेट विनियोजन गरेर विस्तार तथा संरक्षण गर्दै आइरहेको छ ।

अहिले बुलबुले तालको ४२ सय वर्गमिटर क्षेत्रफल बढाउने कार्य शुरू भएको कार्यालयका प्रमुख शिखर चपाईले जानकारी दिए ।

उनका अनुसार पुरानो ताल १६ सय वर्गमिटर थियो भने अहिले निर्माण गर्न लागिएको नयाँ तालको क्षेत्रफल दुई हजार दुई सय वर्गमिटरभन्दा बढी पुग्नेछ ।

प्रविन निर्माण सेवाले एक करोड १२ लाख ३६ हजार ८६३ मा निर्माण गर्नेगरी कार्यालयसँग सम्झौता गरेको छ भने निर्माण कम्पनीले २०८२ असार १० गतेसम्म निर्माण गरिसक्ने छ ।

यो बजेटमा निर्माण कम्पनीले एक मिटर ७५ सेन्टिमिटरको पर्खाल लगाउने छ भने फोहोर पानी बग्ने नालीमा स्ल्याब राख्ने र फुटपाथसमेत निर्माण गर्ने चपाईको भनाइ छ ।

‘यो तालको क्षेत्रफल बढाउन प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो । बुलबुले तालको गुरुयोजना अनुसार यो ताल निर्माण भइरहेको हो,’ प्रमुख चपाईले भने, ‘योजनाको हालसम्म ३० प्रतिशत भौतिक प्रगति भइसकेको छ भने १९ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । २३० मिटर पर्खालमध्ये हालसम्म ९२ मिटर निर्माण पुरा भइसकेको अवस्था छ ।’

उनले मुख्यमन्त्री यामलाल कँडेलले छिटो र गुणस्तरीय निर्माणका लागि बारम्बार ताकेता गरिरहेका बताए । ‘हिजो पनि मुख्यमन्त्रीज्यू स्थलगत अनुगमनमा जानुभएको हो । यसपटकगरी दुई पटक उहाँ निर्माणस्थल पुगिसक्नुभएको छ,’ चपाईले भने, ‘जसरी भए पनि समयावधिभित्रै निर्माण कार्य सक्न मुख्यमन्त्रीज्यूले निर्देशन दिनुभएको छ । सोही निर्देशनअनुसार तीव्र गतिमा काम भइरहेको छ ।’ 

यो तालको गहिराइ भने दुई मिटरको हुने प्रमुख चपाईले बताए । ‘यो तालले कर्णालीको पर्यटन विकासमा टेवा पुर्‍याउने अपेक्षा हामीले गरेका छौं । ताललाई सफा राख्न सकिएको खण्डमा यो तालको पानी जीव जनावरका लागि पनि उपयुक्त हुनेछ,’ मुख्यमन्त्री क‍ँडेलले भने, ‘ताल विस्तार सम्पन्न भएमा एकातिर राजश्व संकलन पनि वृद्धि हुने र अर्कोतिर प्रकृतिको पनि संरक्षण हुने अवस्था छ । त्यसैले छिटो भन्दा छिटो निर्माण कार्य सक्न निर्माण कम्पनी र मातहतका कार्यालयलाई निर्देशन दिइरहेको छु ।’

salt training

कमेन्ट गर्नुहोस्