
प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले वर्तमान गठबन्धन फेरिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई विपक्षीको धर्म भएको टिप्पणी गरेको छ ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आफूहरूको ध्यान सरकारलाई राम्रो बनाउनेतर्फ रहेको बताएका हुन् ।
‘दिनदिनै सरकार फेरिन्छ भन्नु प्रमुख प्रतिपक्षी दलका नेताको धर्म हो । सत्तामा बसेका दलले त्यस्ता कुरामा ध्यान दिने होइन, सरकारलाई राम्रो बनाउन लाग्ने हो’, महतले भने ।
बैठकमा सभापति देउवाले सरकार फेरबदल गर्ने कुनै गुन्जायस नभएको बताएका थिए । ‘वर्तमान गठबन्धन नै चुनावसम्म जान्छ, एमालेसँग गरिएको सहमतिमा हामी प्रतिबद्ध छौं’, दउवाले भनेका थिए ।
पछिल्लो समयमा माओवादी अध्यक्ष प्रचण्डले केपी ओली नेतृत्वको सरकार ढल्ने भनेर दिनदिनै भाषण गरिरहेका छन् ।