२४ जेठ २०८३, आइतबार

बनेको २६ वर्षपछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा

नुनमा आयोडिनको मात्रा बढी देखिँदा आएको स्वास्थ्य समस्या हटाउन मापदण्ड परिमार्जनको बाटो खुल्यो
बैशाख ४, २०८२
काठमाडौं
बनेको २६ वर्षपछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा

जारी भएको दुई दशकसम्म पनि आधिकारिक कार्यान्वयनमा जान नसकेको आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन २०५५ कार्यान्वयनमा आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले लगेको प्रस्ताव वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकबाट पारित भएसँगै बल्ल ऐन कार्यान्वयनमा गएको हो । 

यसले स्वास्थ्य मन्त्रालयले यसअघिको अनुसन्धानमा बालबालिकामा अधिक रूपमा पाइएको आयोडिन र त्यसबाट सिर्जित स्वास्थ्य समस्या समाधानमा काम अघि बढाउन कानूनी बाटो खुला गरेको छ ।

ऐन जारी भएको सूचना २०५५ माघ १ को राजपत्रमा प्रकाशन भए पनि ऐनमा राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको मितिबाट प्रारम्भ हुने उल्लेख थियो । तर, त्यसयताका सरकारहरूले कार्यान्वयनका लागि राजपत्रमा सूचना प्रकाशन नगर्दा ऐन कानूनी रूपमा लागू भएको थिएन ।

जसका कारण ऐनको कार्यान्वयन तथा नियमनका लागि नियमावली तथा निर्देशिका बनाउन सकिएको थिएन । अब साढे २ दशकपछि मन्त्रालयलाई काम अघि बढाउन कानूनी बाटो खुला भएको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले आउँदो साउन १ गतेबाट लागू हुने गरी राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय गरेको हो । 

नेपालमा विगतमा बनेको मापदण्डका कारण बालबालिकामा आवश्यकताभन्दा बढी आयोडिन उपलब्ध हुँदा गम्भीर स्वास्थ्य समस्या आएको मन्त्रालयले नै एक दशक अघि गरेको अनुसन्धानले देखाएको मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तर्गतको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले बताए ।

सन् २०१६ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूक्ष्म पोषक तत्व विश्लेषण सर्वेक्षण गर्दा ६ देखि ९ वर्षका बाबालिकाकाको पिसाबमा ३०० माइक्रोग्राम प्रतिलिटर हुनुपर्नेमा तीन सय १४ भेटिएको थियो । जसका कारण उच्च रक्तचाप, थाइरोइडजस्ता समस्या देखिने गरेको चिकित्सक बताउँछन् ।

व्यवहारिक रूपमा अभ्यासमा आए पनि राजपत्रमा ऐनको शुरूआत तथा क्षेत्रसहितको विवरण प्रकाशनको सूचना नआएकाले यसले नियमावली तथा निर्देशिका आदि बनाएर देखिएको स्वास्थ्य समस्या समाधानमा समेत अड्चन आएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

‘अब स्वास्थ्य, कृषि तथा सम्बद्ध मन्त्रालय मिलेर मापदण्ड परिमार्जन वा अरु आवश्यक काम गर्न सहज हुनेछ’, उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्