
रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट सार्वजनिक भएको छ । सातवटा आकर्षक रंग र पाँच भेरियन्टमा उपलब्ध नयाँ क्लासिक ३५० को मूल्य ५ लाख ५५ हजार रूपैयाँदेखि सुरू हुने जनाइएको छ ।
नेपालमै उत्पादित यी मोटरसाइकलको बुकिङ, टेस्ट राइड तथा विक्री बिहीबारदेखि शुरू भएको कम्पनीले जनाएको छ।
नेपालमा नै रहेको रोयल इन्फिल्डको Completely Knocked Down (CKD) उत्पादन केन्द्रमार्फत तयार पारिएका यी नयाँ मोटरसाइकल पहिलोपटक नेपाली बजारमा सार्वजनिक भएका हुन् ।
वीरगञ्जस्थित सिकेडी प्लान्टमा वार्षिक २० हजार युनिट मोटरसाइकल उत्पादन हुने जनाइएको छ । यस प्लान्टमार्फत नेपालमै मोटरसाइकल उत्पादन गरी उपभोक्तासम्म पुर्याउने उद्देश्यले रोयल इन्फिल्ड र त्रिवेणी समूहबीच सहकार्य गरिएको हो ।
पुरानो आकर्षणलाई कायम गर्दै शैली र गुणमा आधुनिक सुधारसहित क्लासिक ३५० सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । रोयल इन्फिल्ड सिकेडीमा उत्पादित यो मोटरसाइकल अब देशभरका ग्राहकको पहुँचमा पुऱ्याइनेछ ।
शुरूवाती भेरियन्टमै कम्पनीले डुअल च्यानल एवीएससहित प्रिमियम एलईडी हेडल्याम्प एलईडी पाइलटल्याम्प पनि उपलब्ध गराउनेछ ।

यस्तै,त्यसमा टाइप सी यूएसबी चार्जर हुनेछ भने गियर सूचक जनाउने गियर इन्डिकेटर पनि हुनेछ । आधुनिक सुविधासहित अतुलनीय मूल्यमा रोयल इन्फिल्ड उपलब्ध हुने जनाइएको छ । अबदेखि नेपालमा क्लासिक सबै भेरियन्टमा एबीएस उपलब्ध हुनेछ ।
क्लासिक ३५० सार्वजनिक गर्दै कम्पीनका प्रमुख वाणिज्य अधिकृत यदविन्दर सिंह गुलेरियाले भनेका छन्, ‘नेपाली बजार हाम्रा लागि सधैं विशेष रहँदै आएको छ । सिकेडी सञ्चालनको दुई वर्षमा नै बजारबाट रोयल इन्फिल्ड मोटोरसाइकप्रति ग्राहकले दर्शाएको मायाबाट हामी निकै हर्षित र कृतज्ञ छौं । ग्राहकहरूसँग प्रगाढ सम्बन्ध र माया गाँस्न पाउँदा हामी निकै गौरवान्वित छौं ।’
मध्यम तौल मोटरसाइकलका १० मध्ये ८ पारखीहरूले रोयल इन्फिल्डलाई विश्वास गरिरहेको गुलेरियाले बताएका छन् ।
‘यसले हामीलाई हाम्रा उत्पादनमा सुधार र निखारता ल्याउनका निम्ति प्रेरित गरिरहेको छ । ग्राहकहरूले हामीलाई जति माया दर्शाउनुहुन्छ उत्तिनै हामी पनि ग्राहकका राइड अनुभवलाई सहज बनाउने काममा अग्रसर हुनेछौं । ग्राहकहरूसँग नवीन नाता गाँस्नका लागि हामी हाम्रो सञ्जाललाई पनि विस्तार गर्न पाउँदा असाध्यै खुसी छौं, उनले भने, ‘नयाँ क्लासिक ३५० को कलात्मक डिजाइन, समृद्ध इन्जिनियरडले यसलाई अझै सुन्दर बनाएको छ । हाम्रो नयाँ उत्पादनले नयाँ पुस्ताको विशुद्ध मोटरसाइक्लिङ अनुभवलाई थप रोमाञ्चित बनाउने विश्वास हामीले लिएका छौं ।’



