
संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि युनाइटेड नेसन्स युनाइटेड नेसन्स डिसएङ्गेज्मेन्ट अब्जर्भर फोर्स (यूएनडीओएफ) अन्तर्गत सिरियामा तैनाथ शान्ति सैनिकको अदलीबदली गरिएको छ ।
सनमा कार्यरत फोर्स हे.क्वा. सपोर्ट युनिट, इन्जिनियर सेवा मध्यम, दुर्गाभञ्जन गुल्म र श्री लेबल १ (+) अस्पताल (शान्ति सेना) अन्तर्गतका १९४ जना शान्ति सैनिकहरूको नयाँ टोली सिरिया प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नयाँ टोलीको नेतृत्व सेनानी लोकबहादुर बोगटीले गरेका छन् । शान्ति स्थापनाको संवेदनशील जिम्मेवारी बहन गर्न खटिएका सैनिकहरूलाई आवश्यक तालिम तथा तयारीपछि सिरिया पठाइएको जनाइएको छ ।
यसअघि सोही मिसनमा खटिएका २०३ जना नेपाली शान्ति सैनिक आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किएका छन् । स्वदेश फर्किएको टोलीको नेतृत्व प्रमुख सेनानी सुनिलकुमार मल्लले गरेका थिए ।

हाल सिरियाको उक्त मिसनमा नेपाली सेनाबाट सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत तथा विभिन्न युनिटहरूमा गरी कूल ४३९ जना शान्ति सैनिक कार्यरत छन् ।
नेपालले सन् १९५८ देखि संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा सहभागिता जनाउँदै आएको छ ।