१० असार २०८३, बुधबार

राअविका टोलीलाई एआईजी बढुवामा छुटाइयो

असन्तुष्ट एक डीआईजी भन्छन्- पहिला रविले अन्याय गरे, अहिले सरकारले
बैशाख ४, २०८२
काठमाडौं
राअविका टोलीलाई एआईजी बढुवामा छुटाइयो

सरकारले राष्ट्रिय अनुसन्धान विभाग (राअवि)बाट नेपाल प्रहरीमा स्थानान्तरण भएको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा छुटाएको छ । 

प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरू क्रमशः  शिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमा प्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठलगायत बढुवाको प्रतिस्पर्धामा थिए । 

शुरूदेखि नै प्रहरी निरीक्षकमा भर्ना भएर डीआईजी बनेका र हाल एआईजी सिफारिसमा परेका डीआईजीहरू क्रमशः चन्द्र कुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरी शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज केसीको टोलीले राअविबाट आएका टोलीलाई बढुवा सिफारिसमा रोक्न चर्को लबिङ गरेका थिए । 

डीआईजी शाहलाई एआईजीमा बढुवा गर्न सत्ता साझेदार नेपाली कांग्रेसमा चर्को दबाब थियो । तर, सिनियर टोलीलाई पन्छाएर तलकालाई बढुवा गर्दा न्यायोचित नहुने भन्दै प्रधानमन्त्री कार्यालयले अडान लिएपछि राअविबाट आएकाहरू बढुवा सूचीमा अटाएनन् । 

यो पनि पढ्नुहोस्- नेपाल प्रहरीका ६ जना डीआईजी एआईजीमा बढुवा सिफारिस

तत्कालीन प्रहरी महानिरीक्षक प्रदीप शमशेर जबराको पालामा २०५८ मा राअविका ४६ जनालाई नेपाल प्रहरीमा स्थानान्तरण गरिएको थियो । त्यसमा हाल बढुवा सूचीमा नपरेका डीआईजीहरू समेत थिए । 

तत्कालीन गृहमन्त्री रवि लामिछाने (सहकारी ठगी प्रकरणमा हाल पूर्पक्षका लागि कारागारमा रहेका)ले दुई ब्याचलाई उछिनेर बढुवा गर्दा राअविबाट आएकाहरू डीआईजी बढुवामै पछि परेका थिए । बढुवामा असन्तुष्ट एक डीआईजीले लोकान्तरसँग भने, ‘त्यतिबेला रविले अन्याय गरे, अहिले फेरि सरकारले अन्याय गर्‍यो । दुई दशक बढी संगठनमा व्यावसायिक काम गर्दा हामीलाई अर्कै ग्रहबाट आएको जसरी व्यवहार गरियो ।’

हाल बढुवा सिफारिसमा परेका ६ जना मध्येबाट शुरूमा खापुङले दुई महिना प्रहरी संगठनको नेतृत्व गर्नेछन् । त्यसपछि कार्की, अधिकारी र केसीमध्येबाट एक जनाले लामो समय (२०८४ को चुनाव भ्याउनेगरी) प्रहरीको नेतृत्व गर्न पाउनेछन् ।

आगामी भदौ ५ गते आईजीपी दीपक थापासहित उनका ब्याचीहरू एआईजी टेकबहादुर तामाङ र सुदीप गिरीले अवकाश पाउनेछन् । र, यही बीचमा हाल एआईजी सिफारिसमा परेका लालमणि आचार्यले समेत अवकाश पाउनेछन् । 

हाल बढुवामा छुटेका डीआईजीहरूले भदौ यता एआईजीमा सिफारिस पाउने सम्भावना कम देखिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्