२३ असार २०८३, मंगलबार

रुपन्देहीमा चोरीपैठारीको सामानसहित दुई वटा गाडी नियन्त्रणमा

बैशाख ५, २०८२
काठमाडौं
रुपन्देहीमा चोरीपैठारीको सामानसहित दुई वटा गाडी नियन्त्रणमा

सशस्त्र प्रहरी बल नेपालले रुपन्देही जिल्लाका दुई स्थानबाट करिब १४ लाख रूपैयाँ बराबरको चोरीपैठारीको सामानसहित दुई वटा गाडी नियन्त्रणमा लिएको छ।

प्रहरी बल नेपाल सुरक्षा वेश बुटवलले करिब १४ लाख ४ हजार ७६५ रूपैयाँ बराबरको विभिन्न किसिमका सामानसहित दुई वटा गाडी नियन्त्रणमा लिएको जनाएको छ ।  

बुटवल उपमहानगरपालिका–६ ट्राफिक चोकस्थित सिद्धार्थ राजमार्गबाट करिब ७ लाख ६४ हजार ५ सय ३५ रूपैयाँ बराबरको चिउरा तथा लत्ताकपडा बरामद भएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता, डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ज ३७९६ नम्बरको बोलेरो पिकअप गाडीमा राखी लैजाँदै गरेको ६१ बोरा चिउरा र लत्ताकपडासहित उक्त गाडी नियन्त्रणमा लिइएको हो ।  

यसैगरी, सोही उपमहानगरपालिका–१३ जितगढीस्थित पूर्वपश्चिम राजमार्गबाट करिब ६ लाख ४० हजार २ सय ३० रूपैयाँ बराबरको सामानसहित गाडी नियन्त्रणमा लिइएको हो ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ च ५६२० नम्बरको गाडीमा राखी ल्याउँदै गरेको लत्ताकपडा तथा जुत्ताचप्पलसहित उक्त गाडी नियन्त्रणमा लिइएको डीएसपी थापाले बताए । 

बरामद सामान तथा दुईवटै गाडी आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको छ । बरामद सामानको मूल्य १४ लाख ४ हजार ७ सय ६५ रूपैयाँ र दुईवटै गाडीको मूल्य २२ लाख गरी जम्मा भन्सार दाखिला मूल्य ३६ लाख ४ हजार ७ सय ६५ रूपैयाँ कायम गरी भन्सार कार्यालयमा बुझाइएको हो ।

salt training

कमेन्ट गर्नुहोस्