२९ जेठ २०८३, शुक्रबार

अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्पलाई ठूलो झट्का, नागरिकतासम्बन्धी निर्णयमा रोक

बैशाख ५, २०८२
काठमाडौं
अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्पलाई ठूलो झट्का, नागरिकतासम्बन्धी निर्णयमा रोक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सर्वोच्च अदालतबाट ठूलो झट्का लागेको छ । 

जन्मका आधारमा नागरिकता दिन नहुने भन्ने ट्रम्पको निर्णयमा अदालतले रोक लगाएको छ । यद्यपि, सर्वोच्च अदालतले यस विषयमा बहस सुन्ने अनुमति दिँदै आगामी मे महिनामा सुनुवाइ गर्ने जनाएको छ ।

सर्वोच्च अदालतले अहिले नै ट्रम्पको निर्णय संविधानअनुसार हो या होइन भनेर निर्णय नगर्ने जनाएको छ । 

हालका लागि अदालतले एक महत्वपूर्ण प्राविधिक पक्षमा ध्यान दिनेछ, जुन भविष्यमा ठूलो प्रभाव पार्न सक्छ । त्यो पक्ष हो, जिल्ला अदालतका न्यायाधीशहरूले राष्ट्रव्यापी रूपमा राष्ट्रपतिको नीति रोकिने आदेश दिन सक्छन् या सक्दैनन् भन्ने विषय ।

तीन जना संघीय न्यायाधीशहरूले ट्रम्पको आदेशमा रोक लगाउँदै निषेधाज्ञा जारी गरेका थिए । ट्रम्पको आदेशमा अमेरिकाभित्र जन्मेका केही बालबालिकाको नागरिकता रद्द गर्न सकिने भनिएको थियो । 

न्यायाधीशहरूका अनुसार यो आदेश संविधानको १४औं संशोधनको प्रत्यक्ष उल्लंघन हो ।

यो संशोधनअनुसार, अमेरिकामा जन्मिएका लगभग सबै व्यक्तिहरूलाई नागरिकताको अधिकार प्राप्त हुन्छ ।

गत महिना ट्रम्प प्रशासनले सर्वोच्च अदालतमा आपतकालीन अपिल दर्ता गर्दै ती निषेधाज्ञाहरू हटाउन वा सीमित गर्न अनुरोध गरेको थियो । प्रशासनले दाबी गरेको थियो कि तल्लो अदालतका न्यायाधीशहरूले सम्पूर्ण देशभर लागू हुने नीति रोक्ने अधिकार पाउन हुँदैन ।

सर्वोच्च अदालतले बिहीबार जारी गरेको आदेशमा आगामी मे १५ मा सुनुवाइ हुने बताइएको छ । यस्तो आपतकालीन अपिलमा सुनुवाइ मिति तोक्नु सर्वोच्च अदालतका लागि असामान्य हो  । जसले ट्रम्प प्रशासनको दाबीलाई अदालतले गम्भीर रूपमा लिएको संकेत गर्छ।

यदि अदालत ट्रम्प प्रशासनको पक्षमा जान्छ भने, केही क्षेत्रहरूमा ट्रम्पले अघि सारेको नागरिकता सम्बन्धी नीति तुरुन्त लागू हुन सक्नेछ ।

ट्रम्पको आदेश के थियो?
ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिनमै एउटा आदेश जारी गरेका थिए । जसअनुसार अमेरिकाभित्र जन्मिएका ती बालबालिकालाई नागरिकता नदिइने भनिएको थियो, जसका आमाबुबा अवैध रूपमा वा अस्थायी भिसामा अमेरिका बसेका छन् ।

तर, कानूनी विज्ञहरूका अनुसार यो आदेश संविधान र अदालतको पुरानो निर्णयको विरुद्धमा पर्छ । अमेरिकी संविधानको १४औं संशोधनमा भनिएको छ, जो कोही व्यक्ति अमेरिकामा जन्मिन्छ र त्यहाँको कानूनको अधीनमा हुन्छ भने उसलाई अमेरिकी नागरिक मानिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्