
काठमाडौँ केन्द्रित शिक्षक आन्दोलन जारी भए पनि पर्सामा विद्यार्थी भर्ना अभियान सुरु गर्न पर्साका १४ वटै पालिका प्रमुख सहमत भएका छन् । यहाँका १४ वटै पालिका प्रमुख शिक्षक आन्दोलनका कारण प्रभावित विद्यार्थी भर्ना अभियान वैशाख ८ देखि १५ गतेसम्म सञ्चालन गर्न सहमत भएका हुन् ।
आज भएको पालिका प्रमुखहरूको बैठकले तत्काल विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न निर्देशन दिने निर्णय गरेको वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले जानकारी दिए । नेपालको संविधानले आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएकाले सोको प्रभावकारी कार्यान्वयनका लागि विद्यार्थी भर्ना अभियान अघि बढाउन १४ वटै पालिका प्रमुखहरुरू तयार रहेको उनले बताए ।