
भक्तपुरमा गायक दीप श्रेष्ठको एकल सांगीतिक साँझ हुने भएको छ ।
भक्तपुर सांगीतिक समाजका अध्यक्ष अल्बर्ट बज्राचार्यले यही वैशाख २० गते दीप श्रेष्ठको कालजयी गीत संगीत एकल साँझमा गुञ्जने जानकारी दिए ।
एक हजार दर्शक सहभागी गराउने लक्ष्य राखिएको कार्यक्रममा श्रेष्ठले १६ वटा गीत प्रस्तुत गर्ने र भक्तपुर सांगीतिक समाजको तर्फबाट अन्य गायक गायिकाको प्रस्तुति रहने जनाइएको छ ।
कार्यक्रममा भक्तपुरका मौलिक सांस्कृतिक पहिचान झल्किने सामग्री, विभिन्न उत्पादन एवं परिकारका स्टलसमेत राखिने अध्यक्ष बज्राचार्यले जानकारी दिए ।
वरिष्ठ गायक श्रेष्ठले संगीतमा आधुनिकीकरण बढिरहेकाले आधुनिक गीत संगीतको संरक्षणमा चुनौती थपिँदै गएको बताए ।
वरिष्ठ गीतकार सुभासचन्द्र ढुङ्गेलले भक्तपुरमा पछिल्ला केही वर्षयता हुनथालेका आधुनिक गीत संगीतको एकल गायन साँझ र यहाँका युवा पुस्ताले शुरू गरेको गीत संगीतको अभियानले नयाँ ऊर्जा थपिएको बताए ।
कार्यक्रमका संयोजक एवं समाजका सदस्य रोशन धौभडेलले संस्थाले यसअघि पनि अरुण थापा स्मृति साँझ, नारायणगोपाल स्मृति साँझ, दीपक खरेल साँझ, भक्तपुर सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवजस्ता कार्यक्रम सञ्चालन गरिसकेको जानकारी दिए ।