
अमेरिकी रक्षामन्त्री पिट हेग्सेथ गोप्य च्याट लिक भएका कारण पटक-पटक विवादित बनेका छन् ।
हेग्सेथले यमनका हुथी विद्रोहीविरुद्ध सैन्य कारबाहीको योजनासम्बन्धी संवेदनशील जानकारी आफ्नो व्यक्तिगत सिग्नल च्याटमार्फत् परिवारका सदस्यलाई सेयर गरेको खुलासा भएको सीएनएनले लेखेको छ ।
उक्त च्याटमा उनकी पत्नी, वकिल, भाइ र अन्य सहयोगीहरू सामेल थिए भने उनीहरूसँग सुरक्षा स्वीकृति (सिक्योरिटी क्लियरेन्स) थिएन ।
मन्त्री हेग्सेथले सेयर गरेको यो दोस्रो सिग्नल च्याट हो । उनले अमेरिकाको सबै सैन्य योजनाहरू सेयर गरेको पाइएको छ ।
यसअघि पनि उनले मन्त्रिपरिषद्का अधिकारीहरूसँग यस्तै च्याटमार्फत हुथीविरुद्धको सैन्य कारबाहीबारे कुराकानी गरेको खुलासा भएको थियो । उक्त प्रकरण अहिले पेन्टागनको कार्यवाहक महानिरीक्षकको छानबिनमा छ ।
छानबिनका क्रममा दोस्रो च्याट प्रयोग गरिएको थियो, तर उनले त्यसमा पनि असावधानी अपनाए र आफ्ना आफन्त र वकिललाई जोडे ।
पेन्टागनमा लगातार अस्थिरता
यो खुलासा पेन्टागनमा देखिएको लगातारको अस्थिरताको पृष्ठभूमिमा आएको हो । गत साता हेग्सेथले आफ्ना प्रमुख सल्लाहकार ड्यान काल्डवेल, उपप्रमुख स्टाफ डारिन सेल्निक र उपरक्षामन्त्रीका प्रमुख स्टाफ कोलिन क्यारोललाई बर्खास्त गरेका थिए । साथै, उनको प्रमुख स्टाफ जो कास्परले राजीनामा दिएका छन् ।
हेग्सेथले आफ्ना कर्मचारीलाई गरेको बर्खास्ती लिक भएको सूचनाको छानबिनसँग जोडिएको पेन्टागनका प्रवक्ताले बताएका छन् ।
तर, सीएनएनले आफ्नो स्रोतको हवाला दिँदै यो बर्खास्ती पेन्टागनमा विगत पाँच हप्तादेखि चलेको आन्तरिक द्वन्द्व र अस्थिरताको एक हिस्सा मात्र रहेको जनाएको छ ।
कास्पर, काल्डवेल, सेल्निक र क्यारोलबीचको आन्तरिक विवादले हेग्सेथको कार्यालयमा अस्तव्यस्तता निम्त्याएको थियो ।
सूचना लिकको डर र छानबिन
पनामा नहर, मध्यपूर्व र चीनसम्बन्धी गोप्य सैन्य योजना चुहावट भएको समाचारले हेग्सेथलाई झस्काएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
हुथीविरुद्धको सैन्य अभियानको सफलतामाथि प्रश्न उठाउने न्यूयोर्क टाइम्सको समाचारपछि उनले वरिष्ठ सैन्य अधिकारी र आफ्ना नजिकका सल्लाहकारहरूमाथि चुहावटको शंका गरेका थिए ।
उनले यी चुहावटको छानबिनका लागि एफबीआईलाई समेत बोलाउन खोजेका थिए, तर उनका सहयोगीहरूले त्यसले थप छानबिन निम्त्याउन सक्ने भन्दै त्यसो नगर्न सुझाएका थिए ।
हाल पेन्टागनको महानिरीक्षक कार्यालयले हेग्सेथमाथि छानबिन गरिरहेको छ र बर्खास्त गरिएका काल्डवेल, सेल्निक र क्यारोलले यो छानबिनमा बयान दिने अपेक्षा गरिएको छ ।
यी तीनै जनाले संयुक्त वक्तव्यमा आफूमाथि चुहावटको आरोप लगाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले आफूलाई कुन विषयमा छानबिन गरिएको हो भन्ने जानकारी नदिइएको र आफूहरूले सूचनाको गोपनीयता कायम राखेको दाबी गरेका छन् ।
हेग्सेथको निर्णयमाथि प्रश्न
हेग्सेथका पूर्वप्रेस सचिव जोन उलियोटले पनि बर्खास्त गरिएका तीन जनामाथि चुहावटको आरोप गलत भएको बताएका छन् ।
उनले पेन्टागनमा पछिल्लो एक महिना पूर्ण अराजकता भएको र यो अवस्था प्रशासनका लागि समस्या बनेको स्वीकार गरेका छन् । ‘युद्ध लडाइँमा ध्यान दिनुपर्ने बेला पेन्टागन एउटा गहिरो नाटकमा फसेको छ’, उलियोटले भने ।
हेग्सेथले यी बर्खास्ती र अस्थिरताबारे कुनै सार्वजनिक टिप्पणी गरेका छैनन् । गत बिहीबार फ्रान्सेली समकक्षीलाई स्वागत गर्न आयोजित कार्यक्रममा पनि उनी उपस्थित भएनन् । उनले आफ्नो सहयोगीलाई पठाएर पत्रकारसँगको सम्भावित भेटघाटबाट टाढा रहे ।
सिग्नल च्याटमा संवेदनशील जानकारी ?
दोस्रो सिग्नल च्याटमा हेग्सेथले हुथीविरुद्धको सैन्य कारबाहीको योजना सेयर गरेको स्रोतहरूले बताएका छन् । यो च्याटमा उनकी पत्नी जेनिफर, भाइ फिल र वकिल टिम पार्लाटोर पनि सामेल थिए ।
फिल र पार्लाटोर पेन्टागनमा कार्यरत छन्, तर जेनिफरको कुनै आधिकारिक भूमिका छैन । पेन्टागनका प्रवक्ता सिन पार्नेलले सिग्नल च्याटमा कुनै गोप्य जानकारी नभएको दाबी गरेका छन् ।
यो घटनाले हेग्सेथको निर्णय क्षमता र प्राथमिकतामाथि थप प्रश्न उठाएको छ । पेन्टागनले मध्यपूर्वमा हुथीविरुद्ध ठूलो सैन्य कारबाही सञ्चालन गरिरहेको छ । इजरायल र इरानबीच सम्भावित युद्धका लागि क्षेत्रमा हतियार स्थानान्तरण गरिरहेको छ र दक्षिणी सीमामा सैनिक र उपकरण तैनाथ गरिरहेको छ ।