
आम्दा अस्पताल दमकमा मिर्गौला रोगीका लागि डायलासिस सेवा सञ्चालन गरिने भएको छ ।
अस्पतालले भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालको सहकार्यमा २० शय्यासहित डायलासिस सेवा विस्तार गर्न लागिएको हो ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रममा त्यससम्बन्धी सम्झौता गरिएको आम्दा अस्पतालका प्रशासक सुमन नेपालले जानकारी दिए ।
सम्झौतापत्रमा आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शिखर कट्टेल र ओमसाई अस्पतालका निर्देशक बालकुमार पोख्रेलले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार आगामी दुई महिनामा डायलेसिस सेवा शुरू गरिनेछ ।
आम्दामा डायलासिस सेवा नहुँदा यस क्षेत्रका सेवाग्राही दमक बाहिर सेवा लिन जान बाध्य थिए ।
दमकको आम्दा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा आएपछि पूर्वी मोरङ, पश्चिम झापा, इलाम र पाँचथरका दक्षिणी क्षेत्रका लक्षित समुदायहरू लाभान्वित हुने अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा. नवीन ढकालले बताए ।
ओमसाई पाथीभरा अस्पतालले लामो समयदेखि डायलेसिस सेवा उपलब्ध गराउँदै आएको छ ।
त्यस अवसरमा आम्दा अस्पतालका पूर्वमेसु डा. प्रकाश शर्मा, डा. नवीन ढकाल, दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गुरागाईंलगायतको उपस्थिति थियो ।