२५ असार २०८३, बिहीबार

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बैशाख ९, २०८२
काठमाडौं
तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले​ बाराको ​पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सार्वजनिक खरिद ऐनलाई छलेर विज्ञापनसमेत प्रकाशित नगरी आर्थिक अनियमितता गरेको आरोपमा यादवका साथै लेखापाल हासिम मियाँ अंसारी र केएस मल्टिपरपोज प्राइभेट लिमिटेडका अध्यक्ष कमलकुमार उपाध्यायविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर भएको हो । 

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार नगरपालिकाबाट आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालन भएका ठेक्काको बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐन बमोजिम राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा उक्त मल्टिपरपोजका अध्यक्ष उपाध्यायसमेतको मिलेमतोमा नगरपालिकाको ठेक्काको अभिलेखमा राख्नका लागि मात्रै प्रभाव दैनिक पत्रिकामा एक प्रति मात्र बोलपत्र आह्वानको सूचना प्रकाशित गरेको पाइएको थियो ।

अनुसन्धानका क्रममा उक्त विवरण नगरपालिकामा पेश गर्न लगाई झुट्टा विवरणसहितको पत्रिकाको आधारमा ३ लाख ५२ हजार ५६० रुपैयाँ केएस मल्टिपरपोज प्राइभेट लिमिटेडलाई भुक्तानी दिएको पुष्टि भएको आयोगको दाबी छ ।

यादव र अंसारीविरुद्ध ३ लाख ५२ हजार ५६० बिगो कायम गर्दै कैद र बिगो बमोजिम जरिवानाका साथै बिगो असुल गर्न मागदाबी गरिएको छ ।

यस्तै मल्टिपरपोजका अध्यक्ष उपाध्यायले आर्थिक वर्ष ०७७/७८ मा सञ्चालन भएका ठेक्काको बोलपत्र आह्वानको सूचना राष्ट्रिय स्तरको पत्रिकामा प्रकाशन नगरी ठेक्काका लागि मात्रै अभिलेखमा राख्ने गरी एक प्रति मात्र प्रभाव दैनिकमा प्रकाशित गरेर ३ लाख ५२ हजार ५६० भुक्तानी लिएको पुष्टि भएको आयोगको दाबी छ ।

आयोगले उनलाई मुख्य कसुरदार सरह नै सजायको मागदाबी गर्दै बिगोसमेत असुल गर्न भनेको छ ।

यस्तो छ अभियोगपत्र

salt training

कमेन्ट गर्नुहोस्