
राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले विदेशमा बस्ने नेपालीहरुको नागरिकता निरन्तरता हुनुपर्नेमा आफ्नो पार्टी प्रतिबद्ध भएको उल्लेख गरेका छन् ।
विदेशमा बस्ने नेपालीको नागरिकता निरन्तरताको विषय नौलो नभएपनि वर्तमान नागरिकता ऐनले सो विषयलाई विस्थापित गरेको भन्दै उक्त ऐन संशोधन गर्नुपर्ने आफूहरुको पनि मुख्य म्यान्डेट भएको उनले बताए ।
डा बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघका प्रतिनिधिमण्डलसँग सिंहदरबारमा आज भएको भेटमा अध्यक्ष लिङ्देनले भने, “एक पटकको नेपाली सदैव नेपाली हुनुपर्छ र उनीहरुलाई मूलथलोबाट टाढा बनाउनु हुन्न भनेर हामीले आवाज उठाउँदै आएका छौँ ।”
विदेशमा बस्ने नेपालीहरु पनि देश विकासका मुख्य सारथी, स्रोत र शक्ति भएको भन्दै उनले सबै पक्षलाई मिलेर एकढिक्का भएर देश विकासको साझेदार बन्न समेत आह्वान गरे ।
यस्तै उपाध्यक्ष डा हेमराज शर्माले एनआरएनएमा अहिले देखा परेको विवादका सम्बन्धमा नेपालका सबै राजनीतिक दलहरुले एकमत भएर विधानविपरित गतिविधि गरिरहेको समूहलाई समस्या समाधानका लागि सुझाव दिनुपर्नेमा जोड दिए ।
यसैबीच गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलले आजै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबहाक सभापति डोल प्रसाद (डिपी) अर्याललाई भेटेर गैरआवासीय नेपाली नागरिकताको कार्यन्वयनका लागि पहल गरिदिन आग्रह गरेको छ ।
यस्तै आजै उपसभामसख इन्दिरा रानासँग भएको भेटमा पनि प्रतिनिधिमण्डलले गैरआवासीय नेपाली नागरिकता, वर्तमान विवादास्पद अवस्था लगायतका बारेमा जानकारी गराएको छ । भेटमा उपसभापति रानाले आफ्नो तहबाट गर्न सकिने पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।