०८ साउन २०८३, शुक्रबार
देउवामाथि दबाब बढाउने तयारी

शशांक निवासमा कांग्रेसका सात नेताको बैठक, देउवा थाइल्याण्ड गएका बेला महत पनि सहभागी

बैशाख ११, २०८२
काठमाडौं
शशांक निवासमा कांग्रेसका सात नेताको बैठक, देउवा थाइल्याण्ड गएका बेला महत पनि सहभागी

१५औं महाधिवेशनको लागि नेतृत्त्वलाई दबाब बढाउन नेपाली कांग्रेसका सात नेताहरूको बैठक बसिरहेको छ । पूर्वमहामन्त्री डा. शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा प्रभावशाली सात नेताहरूको बैठक बसेको नेता गोपालमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठक आज बिहान १० बजेपछि शुरू भएको हो ।  

‘यसअघि पनि हामी प्रभावशाली र सिनियर नेताहरूको बैठक आलोपालो बस्दै आएका छौं । आज फेरि यही श्रृंखलाअन्तर्गत शशांक डाक्टरसाबको निवासमा भेला भएका छौं,’ श्रेष्ठले लोकान्तरसँग भने, ‘हामीले मिलेर जाने वातावरण बनाउन, महाधिवेशन छिटो गर्न र उपयुक्त नेतृत्त्वको लागि दबाब बढाउन खोजेका हौं ।’

प्रभावशाली सात नेतामा पूर्वउपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा. प्रकाशशरण महत र गोपालमान श्रेष्ठ रहेका छन् । 

यसअघि सिंह, निधि र शशांकले मात्रै आलोपालो भेटघाट गर्दै आएका थिए । त्यसमा पछि सिटौला, गच्छदार र श्रेष्ठ थपिएका हुन् । तर, देउवालाई दबाब बढाउने यो समूहमा डा. प्रकाशशरण महत पनि थपिएका छन् । उनी कुनै समय देउवाका विश्वासपात्र नेता हुन् । अहिले पनि महत कांग्रेसका प्रवक्ता छन् । पछिल्लो समय उनले पनि पार्टी नेतृत्त्वसँग फरक मत राख्ने प्रयास गरिरहेका छन् । 

सभापति देउवा उपचार र पारिवारिक भेटघाटको लागि थाइल्याण्डमा रहेका बेला महत पनि बैठकमा सहभागी भएका हुन् । 

नेता श्रेष्ठले पनि अघिल्लोपटक निधि निवासमा भएको जमघटमै आउन खोजे पनि महतको समय नमिलेको बताए । तर, बिहीबार बिहानको जमघटमा भने महत पनि सहभागी भएको जानकारी श्रेष्ठले दिए । 

विधानतः सभापति शेरबहादुर देउवाले अब १५औं महाधिवेशनमा दाबेदारी गर्न मिल्दैन । यसैले देउवालाई सहयोग गर्दै आएका सात नेताहरूले आफूहरू मध्येबाटै नेतृत्त्व गरेर जानेगरी परिस्थिति बनाउन सभापति देउवालाई दबाब बढाउने रणनीति बनाएका छन् । केही समयअघि यी सबै प्रभावशाली नेताले देउवालाई भेट्दै आफूहरूमध्येबाटै नेतृत्त्वको लागि एक जनालाई अगाडि सार्न दबाब दिएका थिए । तर, देउवाले महाधिवेशन नजिक आएपछि निर्णय लिने बताएका थिए । 

आगामी महाधिवेशनमा डा. शेखर कोइराला र महामन्त्री गगन थापा सभापतिको दाबेदार देखिएका छन् । संस्थापनतर्फ उपसभापति पूर्णबहादुर खड्काको पनि दाबेदारी छ । तर, यी तिनै जना नेतालाई रोकेर यही समूहबाट एक जना अगाडि बढ्नुपर्नेगरी सात नेताले पार्टीमा दबाब बढाउन खोजेका हुन् । 

नियमित स्थितिमा २०८२ मंसिरभित्र कांग्रेसको महाधिवेशन गर्नुपर्ने हुन्छ । तर, सभापति देउवाले पहिले आफू प्रधानमन्त्री हुने र त्यसपछि मात्रै महाधिवेशन गर्ने मानसिकता बनाएको नेताहरू बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्