१० साउन २०८३, आइतबार
२०७२ सालको महाभूकम्पको सम्झना

पश्चिम नेपालमा टरेको छैन ठूलो भूकम्पको जोखिम, क्षति न्यूनीकरण गर्ने तयारी खै ?

५०० वर्षदेखिको शक्ति सञ्चित छ, कुनै पनि बेला ठूलो भूकम्प जान सक्छ : लोकविजय अधिकारी
बैशाख १२, २०८२
कास्की
पश्चिम नेपालमा टरेको छैन ठूलो भूकम्पको जोखिम, क्षति न्यूनीकरण गर्ने तयारी खै ?

गत फागुन २३ गते म्याग्दी केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प गयो । त्यसको भोलिपल्ट अर्थात् फागुन २४ गते बागलुङ केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्प गयो । फेरि दुई दिनपछि (फागुन २६ गते) कास्की केन्द्रबिन्दु बनाएरै ४.३ म्याग्निच्यूयडको भूकम्प गएको थियो । मंसिर ६ गते कास्की र मनाङको सिमानामा ४.२ म्याग्निच्यूडको भूकम्प गएको थियो । 

भूकम्पको जोखिममा नेपाल ११औँ स्थानमा पर्छ । भूकम्पविद् तथा वैज्ञानिकले पश्चिम नेपालले महाभूकम्पको सामान गर्नुपर्ने बताउँदै आएका छन् । जसको एउटा कारण यहाँ भएको शक्ति सञ्चय हो । 

मुस्ताङमा गएको ८.५ म्याग्निच्यूडको भूकम्प गण्डकी प्रदेशमा हालसम्म थाहा भएको ठूलो भूकम्प हो । विक्रम संवत् १५०५ मा मुस्ताङमा गएको ठूलो भूकम्पपछि यस क्षेत्रमा त्यो स्तरमा भूकम्प गएको छैन । 

जसको अर्थ हो यहाँ भूकम्पीय गतिविधिका लागि शक्ति सञ्चित भएर बसेको छ । त्यसैले यो क्षेत्रमा स–साना भूकम्प गइरहन्छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार नेपालमा दिनमा कम्तीमा १० वटा भूकम्प रेकर्ड हुन्छन् । अर्थात् हामीले थाहा नपाए पनि जमिनमूनि हलचल भइरहेको हुन्छ । 

भौगोलिक रूपमा गण्डकी भूकम्पीय क्षेत्रको पश्चिमी भागमा पर्छ । जसलाई विज्ञले भूकम्पको जोखिमयुक्त क्षेत्रमा राख्छन् । तर, विज्ञको चिन्ता विशेषगरी कर्णाली र सुदूरपश्चिम क्षेत्र हुन् । 

नेपालले २०७२ सालको भूकम्प देखेयता विज्ञहरूले बारम्बार पश्चिम नेपालले सामना गर्नुपर्ने महाभूकम्पबारे चेतावनी दिँदै आएका छन् । तर, सरकार जोखिम न्यूनिकरणका लागि अघि बढेको छैन । 

डेढ वर्षअघि कार्तिकमा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । जसबाट जाजरकोट, पश्चिम रुकुमसहितका जिल्लाका घरमा ठूलो क्षति पुगेको थियो । उक्त भूकम्पमा १५३ जनाले ज्यान गुमाएका थिए भने ३ सय ६४ भन्दा बढी घाइते भएका थिए । ठूलो संख्यामा नागरिक घरबारविहीन हुन पुगेका थिए । २६ हजार घरहरू पूणरूपमा र ३५ हजारभन्दा बढी घर आंशिकरूपमा क्षति भएको थियो । 

जाजरकोट त्यो पीडाबाट अझै निस्किन सकेको छैन । जसको पुस्ट्याइ सरकारी प्रतिवेदन आफैंले गर्छ ।  सरकारले प्रभावित क्षेत्रमा स्थलगत अध्ययन गर्न समिति गठन गरेको थियो । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरूको स्थलगत अध्ययन,अवलोकन तथा अनुगमनसम्बन्धी प्रतिवेदन, २०८१ ले प्रभावित क्षेत्रको जीवन अझै कष्टपूर्ण रहेको उल्लेख गरेको छ । ‘सरकारी तहबारसमेत पीडितहरूको उद्धार र राहत वितरणको कार्य सन्तोषजनक रहे पनि पुननिर्माण र पुनःस्थापनाका काम सन्तोषजनक हुन सकेको छैन,’सो प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनले जाजरकोटमा भूकम्प गएको लामो समयसम्म पनि अवस्था कहाली लाग्दो रहेको औंल्याएको थियो । ‘विद्यालय भवनहरूलगायत भूकम्पले प्रभावित गरेका संरचनाको पुननिर्माण हुन सकेको छैन । संघीय सरकारलगायत सरकारी निकायबाट पुननिर्माण र पुनःस्थापनामा तिव्रता दिने र नागरिकको जीउधनको सुरक्षा गर्ने पटकपटक प्रतिबद्धता भएता पनि स्थानीय अवस्था कहाली लाग्दो छ,’ प्रतिवेदनमा लेखिएको छ । 

७२ सालको महाभूकम्प भोगेको आज १० वर्ष भयो। यसबीच भूकम्प प्रतिरोधात्मक घर बनाउनेदेखि थुप्रै काम भए । तर, पश्चिम क्षेत्रमा निम्तिने जोखिमका लागि सरकार कति तयार छ भन्ने जाजरकोटको भूकम्पले देखाउँछ । 

भूकम्पविद् अधिकारी अन्य स्थानको तुलनामा पश्चिम नेपालमा भूकम्प आउन शक्ति सञ्चित धेरै नै भएको बताउँछन् । उनका अनुसार जोखिम न्यूनिकरणका लागि आ–आफनो ठाउँबाट काम भइरहेको छ । भूकम्पको अध्ययन अनुसन्धानदेखि प्रतिरोधात्मक घर निर्माण बारेमा सबैले आफ्नो स्थानबाट काम गरिरहेको उनी बताउँछन् । भवन संहिता लागू गरेमा भूकम्पबाट हुने जोखिम घट्ने उनको भनाइ छ ।

यसै सन्दर्भमा भूकम्पविद् अधिकारीसँग लोकान्तरकर्मी रिना थापाले गरेको कुराकानी :

पश्चिम नेपाल भूकम्पको जोखिम किन बढी छ ? 

पश्चिम मात्र होइन पूर्ण नेपालमा जोखिम छ । नेपालमा भूकम्प जाने कारण भनेको इन्डियन प्लेट र यूरोसियन प्लेटको टकराव हो । त्यो टवरावका कारण नेपालको हिमालय क्षेत्रमा शक्ति सञ्चित हुन्छ । इन्डियन प्लेटमाथि उत्तरतर्फ प्रतिवर्ष ४ देखि ५ सेन्टिमिटरको दरले सरिरहेको छ । नेपालको चुरेदेखि हिमालसम्मको क्षेत्र यस्तो छ, जहाँ इन्डियन प्लेट तलबाट छिर्न खोज्छ । तर, हिमालयले त्यो प्लेटलाई छिर्न दिँदैन । यही प्रक्रियामा तलबाट इन्डियन प्लेटले धकेल्दा र माथिबाट रोकिँदा आफू खुम्चिन्छ । 

हिमालय खुम्चिन्छ भनेको शक्ति सञ्चित हुनु हो । मानौं एउटा लाठीलाई दुइटा हातले दुई छेउबाट तन्काउनु भयो भने बिचमा तन्किन्छन् । त्यसले तान्दै तान्दै आफूतिर ल्याउँदा त्यो लाठी भाँचिन्छ । हो, त्यस्तै हिमालहरू भूइँचालो नगएको बेला खुम्चिन्छ । 

जबसम्म चट्टानहरूले थिचाइ (तनाव) सहन सक्छन्, तबसम्म स–साना भूकम्पहरू आइरहन्छन् । बर्सेनि चट्टानहरू केही सेन्टिमिटरले खुम्चिन (संकोचन) थाल्छन् । तर, एकबेला त्यस्तो अवस्था आउँछ, जब चट्टानहरूले त्यो तनाव सहन सक्दैनन्। त्यसबेला चट्टान चिरिन्छ— जसलाई भूकम्प भनिन्छ । त्यो चिरिने प्रक्रिया भनेको जम्मा भएको शक्ति एक्कासि बाहिर निस्कनु हो । यो शक्ति दशकौं वा सयौं वर्षदेखि थुप्रिएको हुन्छ। शक्ति बाहिरिएपछि प्रक्रिया फेरि शुरू हुन्छ — फेरि चट्टानहरू खुम्चिन थाल्छन्। यही कारणले अहिले हिमालय क्षेत्रमा बारम्बार भूकम्प आइरहेका छन्। यस्ता भूकम्पहरू सधैं सिंगो हिमालयमा एकैचोटि हुँदैनन्— टुक्रा–टुक्रामा, फरक–फरक भूभागमा भएर जान्छन्।

नेपालको कुरा गर्दा पूर्व नेपालमा १२५५ ईसी संवत्मा गएको थियो त्यसपछि खुम्चिने प्रक्रिया भइरह्यो । त्यहाँ शक्ति सञ्चित भइरह्यो । अनि ९० सालमा भूइँचालो गयो । त्यसपछि अहिले पश्चिम नेपालको सन्दर्भमा पछिल्लो पटक १५०५ मा भूइँचालो गयो । त्यतिबेला गएपछि त्यहाँ ठुलो भूकम्प गएको छैन । त्यो खुम्चिने क्रम जारी छ । पाँच सय वर्षभन्दा बढी समयदेखि त्यो भूकम्प जानलाई तयार भएर बसेको छ । 

कहिलेसम्म त्यहाँको चटानले थेग्न सक्छ तबसम्म ठुलो भूइँचालो नजाने भयो । सानोसानो गइरहने भयो । जतिबेला त्यहाँको चटानले थेग्न सक्दैन त्यतिबेला ठूलो भूइँचालो जाने भयो । ठूलो भूकम्प जाने शक्ति त्यहाँ जम्मा भइसकेको छ । त्यसकारण त्यहाँ भूकम्प जहिले पनि जानसक्छ भनेर जोखिममा छ । 

२०१५ को भूकम्प प्रभावित क्षेत्र र पश्चिम नेपालको सिस्मिक ग्यापबीच के भिन्नता छ?

सिस्मिक ग्याप भनेको त्यस्तो भूभाग हो, जहाँ भूकम्प जानको लागि शक्ति जम्मा भएको छ, तर त्यो शक्ति धेरै वर्षदेखि बाहिर निस्किएको छैन । जस्तो उदाहरणको लागि, पश्चिम नेपालमा ५०० वर्षभन्दा बढी समयदेखि भूकम्पको शक्ति जम्मा भइरहेको छ र त्यो शक्ति कुनै समयमा ठूलो भूकम्पको रूपमा बाहिर निस्कन सक्छ ।
२०७२ सालको गोरखा भूकम्पको समयमा चूरेदेखि हिमालसम्मको क्षेत्रलाई प्रभावित गर्ने शक्ति जम्मा भएको थियो । गोरखा भूकम्पले गोरखा, दोलखा क्षेत्रबाट काठमाडौं र दक्षिणका भूभागसम्मको शक्ति रिलिज गर्‍यो । तर, काठमाडौंभन्दा दक्षिणको तरार्इं क्षेत्रमा अझै केही शक्ति बाँकी छ, जुन रिलिज भएन । त्यो शक्ति अझै जमेको छ र यसले भविष्यमा कुनै समय भूकम्प निम्त्याउन सक्छ । अब १० वर्षको समयको भूकम्प बाँकी रहेको छ र त्यो शक्ति अझै दक्षिणतिर फैलिएको छ । अन्तको तुलनामा पश्चिम नेपालमा शक्ति चाहिँ धेरै नै छ । 

भूकम्पको पूर्वानूमान हुन्छ ? 
अहिलेसम्म भूकम्पको पूर्वानुमान छैन । तर, के हुन्छ भने, भूकम्प गएको पछिको अर्लि वार्निङ सिस्टमद्वारा केन्द्रविन्दुबाट केही दूरीको क्षेत्रमा सूचना दिन सकिन्छ । नेपालमा भूकम्पको केन्द्रविन्दुबाट ४०–५० किलोमिटरको दायरा भित्रको स्थानमा केही भन्न सकिँदैन ।

तर,केन्द्रविन्दुबाट ५० किलोमिटर टाढा रहेका शहरहरूमा अर्लि वार्निङ सिस्टमले काम गर्न सक्छ । यति मात्र होइन, जति टाढा जान्छ, त्यति सूचनाको दिँदा क्षति न्यूनिकरण हुने भयो । यद्यपि, नेपालमा अहिलेसम्म यस्ता अर्लि वार्निङ सिस्टमको पूर्ण प्रणाली छैन।

अन्नपूर्ण क्षेत्रमा भूकम्पीय गतिविधि बढी हुनको अर्थ के हो ? 
ठूलो भूकम्प नआउँदा पनि दैनिक औसतमा कम्तीमा १० वटा साना भूकम्पहरू गइरहन्छन् । यो भूकम्प गतिविधि विशेषतः भूकम्पीय बेल्टमा भइरहेको हुन्छ । जसमा हिमालय क्षेत्र भूकम्प गइरहने बेल्ट हो । शक्ति जम्मा भइरहेको कारण त्यहाँ साना भूकम्पहरू आउने गर्छन् । गोरखादेखि पश्चिमतर्फ जाने हो भने पोखरा, अन्नपूर्ण र अन्य क्षेत्रहरू पनि प्रभावित हुन सक्छन् । हामीले अहिले देखि संरचनागत जोखिमलाई कम गर्दै जान सके भने भविष्यमा हुने क्षति घटाउन सकिन्छ । निर्माण भएका संरचनाहरूको जोखिम पहिचान गरी त्यसलाई कम गर्नु पनि पर्छ । नयाँ संरचनामा जोखिम थप्न भएन । यसमा राज्य पनि सक्रिय हुनुपर्छ । 

विज्ञ र सरकारबीच ग्याप महसुस गर्नुहुन्छ ? 
सबैले आ–आफनो काम गरिरहेको छ । हाम्रोजस्तो विकसोन्मुख देशमा आर्थिक कारण पनि हुनसक्छ । अध्ययन अनुसन्धानमा प्राविधिक नै कमी हुन्छ । त्यो कुरा प्रष्ट देखिन्छ । त्यो कुरा हामीले पनि विज्ञ र सरकारबीच ग्याप धेरै महसुस गर्छौं ।

क्षति न्यूनिकरणका लागि के गर्न सकिन्छ ?

सबैले आ–आफनो तर्फबाट काम गर्ने हो । हामीले भूकम्पको अध्ययन अनुसन्धान गर्ने पाटो आफ्नो स्टेशसनमा गराएका छौं । नयाँ सिस्टम अपडेट गराएका छौं । अध्ययन कार्य हाम्रो पाटो भयो । अर्को चाहिँ बिल्डिङ कोड लागु गरेको छ ।  त्यो पनि जोखिम घटाउने उपाय हो नि । त्यो कार्यान्वयन गर्नुपर्‍यो ।

salt training

कमेन्ट गर्नुहोस्