२३ असार २०८३, मंगलबार

लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक ‘सेमिनार’ हुने

बैशाख १२, २०८२
काठमाडौं
लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक ‘सेमिनार’ हुने

लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक ‘फेस्टिवल र सेमिनार’ आयोजना गरिने भएको छ । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो सेमिनार आयोजना गर्न लागिएको हो । 

यही वैशाख १३ र १४ गते आयोजना हुने उक्त कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्‌घाटन गर्ने कार्यक्रम रहेको छ ।

फेस्टिवलअन्तर्गत अन्तर्राष्ट्रिय सेमिनारको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालय रहेको छ भने फेस्टिवलको समन्वय ‘सारीपुत्र फाउन्डेसन’ले गरेको हो ।

चीनको ‘वल्र्ड एलायन्स फर बुद्धिस्ट कल्चरल एक्सचेन्ज लिमिटेड’ र ‘विचो पिस क्यालिग्राफी एन्ड पेइनिङ एकेडेमी’ले सहकार्य गरेका छन् ।

यसमा संस्कृति तथा पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोषको समेत सहकार्य रहेको छ । फेस्टिवलमा ४० देशका प्रतिनिधि सहभागी हुने बताइएको छ ।​​

यस्तै, अन्तर्राष्ट्रिय सेमिनार लुम्बिनी बौद्ध विश्वविद्यालयमा हुनेछ ।

सेमिनारमा ४० कार्यपत्र प्रस्तुत हुने सेमिनार संयोजक डा. सागर न्यौपानेले जानकारी दिए । बौद्ध संस्कृति, चिनियाँ संस्कृति, कला, परम्परागत बौद्ध चिकित्सा तथा बौद्ध शिक्षामा केन्द्रित रहेर सेमिनारमा कार्यपत्र प्रस्तुत गरिने उनले बताए । ​

फेस्टिवलअन्तर्गत अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा सांस्कृतिक कार्यक्रम तथा फोटो प्रदर्शनी हुनेछ । मायादेवी मन्दिर, रामग्राम र तिलौराकोटमा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको सारिपुत्र फाउन्डेसनले जनाएको छ ।

यसअघि पहिलो, दोस्रो र तेस्रो सांस्कृतिक फेस्टिवल कम्बोडिया, श्रीलङ्का र थाइल्याण्डमा भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्