
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग विकास तथा सहयोगका लागि स्विस नियोग (एसडीसी)का डेपुटी चिफ अफ मिसन म्याथियास मेयरले आज शिष्टाचार भेट गरेका छन् ।
भेटमा मुख्यमन्त्री सिंह र नियोगका डेपुटी चिफ अफ मिसन मेयरबीच प्रदेश सरकारसँगको सहयोग तथा समन्वयमा एसडीसीले मधेश प्रदेशमा सञ्चालन गरिरहेका विभिन्न योजनाका प्रगति, चुनौती र समाधानका उपायबारे छलफल भएको मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए ।
भेटमा मुख्यमन्त्री सिंहले नेपालको विकास प्रयासमा स्विस सरकारको लामो तथा निरन्तर सहयोगको सराहना गर्दै छोटो समयको सङ्घीय शासनपद्धति र संरचना व्यवस्थित तथा विस्तार नहुँदा उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गर्न कठिनाइ भइरहेको बताए ।
मुख्यमन्त्री सिंहले सङ्घीय कानुन अभाव, कार्यविधि तथा निर्देशिकालाई अन्तिम रूप दिन झन्झटिलो प्रक्रिया र दक्ष जनशक्तिको अपर्याप्त उपलब्धता आदिले योजना कार्यान्वयनमा समस्या हुने गरे पनि विकास साझेदार संस्थामार्फत आउने बजेट निर्धारित समयभित्र खर्च हुने बताए ।
उनले वैदेशिक रोजगारमा जाने जनशक्तिलाई सीपयुक्त बनाउन मधेश विश्वविद्यालयमार्फत सीपमूलक शिक्षा दिने तयारी भइरहेको र वैदेशिक रोजगारबाट फर्केकालाई स्वदेशमै उद्यम गर्न प्रोत्साहित गर्न सरकार प्रतिबद्ध रहेको प्रस्ट्याए ।
भेटमा नियोगले आगामी दिनमा गर्ने कार्यका बारेमा कार्यान्वयनमा सहयोग तथा साझेदारी गर्ने विषयमा डेपुटी चिफ अफ मिसन मेयरले सहमति जनाए ।
उनले सुरक्षित श्रम आप्रवासनको क्षेत्रमा एसडीसीका प्रयासबारे जानकारी गराउँदै वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र उपलब्धिमूलक बनाउन तथा वैदेशिक रोजगारबाट फर्केकाको श्रम, सीप र पुँजीलाई स्वदेशमै उपयोग गर्ने विषयमा नियोगका परियोजनाका अनुभव सुनाएका थिए ।