
चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदीको विगत १० वर्षदेखि सरसफाइ हुँदै आएको छ। अभियन्ताहरूले स्वतस्फूर्त रूपमा नदी र आसपासका क्षेत्रमा मुख्य रूपमा प्लास्टिकजन्य वस्तु सङ्कलन गर्दै आएका हुन्।
राप्ती सरसफाइ अभियानका संस्थापक अध्यक्ष अपिल घिमिरेका अनुसार, वि.सं. २०७२ माघ २३ गतेदेखि हरेक हप्ताको शनिबार बिहान ८ बजे यो अभियान सञ्चालन हुँदै आएको छ। नदीको मुहान मकवानपुरको त्रिखण्डीदेखि चितवनको मेघौलीस्थित गोलाघाटसम्म सरसफाइ हुँदै आएको छ।
नदीमा रहेका जलचर र निकुञ्जमा वन्यजन्तु प्लास्टिकबाट प्रभावित हुने भएकाले उनीहरूलाई जोगाउनु मुख्य उद्देश्य रहेको घिमिरेले बताए। स्थानीय जनतालाई सहभागी गराएर ५० देखि १०० जनासम्म प्रत्येक हप्ता सहभागी हुने गरेका छन्।
पचास जना हाराहारी नियमित अभियानमा जुट्ने अभियन्ता रहेको उनले जानकारी दिए।
हालसम्म ५०० पटक २२ हजार स्वयंसेवकले सरसफाइ अभियानमा सहभागिता जनाइसकेका छन्। नदीको विभिन्न ठाउँमा पुगेर सोही ठाउँका स्थानीयवासी र जनप्रतिनिधिलाई सहभागी गराएर सरसफाइ हुँदै आएको घिमिरेले बताए।
हालसम्म अभियानमा वनमन्त्री, पर्यटनमन्त्री, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, विभिन्न पालिकाका प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधि सहभागी भइसकेका छन्। चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र सुरक्षाका लागि खटिएको नेपाली सेना पनि अभियानमा सहभागी हुँदै आएका छन्।
दिवस परेको बेला दाताहरूबाट ग्लोब्स, डस्बिन, कुचो, बोरा, डोको, मास्क जुटाइने गरिएको भए पनि अन्य समयमा आफैँ सरसफाइ सामग्री लिएर अभियान सञ्चालन हुँदै आएको उनले बताए। नदी र आसपासका क्षेत्रमा छरिएका प्लास्टिक वन्यजन्तुले घाँससँगै खाने र स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरेको र जालजस्ता वस्तुमा अल्झिएर कतिपय वन्यजन्तु र जलचर मर्ने गरेका छन्।
अभियानका क्रममा प्लास्टिक सङ्कलन र व्यवस्थापनसँगै स्थानीयलाई संरक्षणसम्बन्धी शिक्षा दिइँदै आइएको छ।