
काठमाडौं, १४ मंसिर — भारतको पुणेमा एक किसानले १६ लाख रुपैयाँको बोली लगाएर एउटा नरिवल किनेका छन् । महाराष्ट्रमा एकातिर ऋणबाट चिन्तित किसानहरूले आत्महत्या गरिरहेका छन् भने अर्कातिर यति महंगो मूल्य तिरेर नरिवल किन्ने धनी किसान पनि छन् ।
पुणेमा भानोब भगवान् उत्सव मनाइँदैछ । उत्सवको अन्तिम दिन भक्तहरूले भगवानलाई नरिवल चढाउँछन् र अन्तिम दिनमा मन्दिरको ट्रस्टीले बोली लगाउँछन् ।
सुभाष बन्सोडे नामक किसानले विगत तीन वर्षयता लगातार बोली लगाएर नरिवल किन्ने गरेका छन् ।
यस इलाकामा नरिवल किन्ने मानिसको घरमा खुशियाली आउने र भगवानको आशीर्वाद पाइने मान्यता छ । त्यसैले भानोब भगवानको उत्सवमा हरेक वर्ष सयौं धनी किसानहरू शुभ मानिने नरिवलको बोली लगाउँछन् । यस वर्ष ८०
हजार रुपैयाँबाट बोली शुरु गरिएको थियो । पाँच मिनेटभित्र तीन किसानले लिलाम बढाबढ गरे ।
बन्सोडेका छोरा गोपालका अनुसार, यो विशेष नरिवल अब एक वर्ष उनको घरमा पूजा गरिनेछ र अर्को वर्ष यही उत्सवमा नरिवल इन्द्रायणी नदीमा विसर्जित हुनेछ ।
एजेन्सी