२४ जेठ २०८३, आइतबार

मौरीपालेर वार्षिक आठ लाख बढी आम्दानी

बैशाख १५, २०८२
सुनसरी
मौरीपालेर वार्षिक आठ लाख बढी आम्दानी

सुनसरीको इटहरी उपमहानगरपालिका–४ का युवराज भट्टराईले मौरीपालन गरेर वार्षिक आठ लाख बढी आम्दानी गरिरहेका छन् । मौरी चरनका लागि मौसम अनुकूल भएमा मह धेरै उत्पादन हुन्छ । आधुनिक प्राविधि प्रयोगगरी मौरीपालन गरे मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् उनी ।

'बुवाकै सल्लाहमा विसं २०७२ मा मौरीपालन शुरू गरको हुँ,' उनले भने । हाल ६२ घार मौरी उनले पालेका छन् । वार्षिक नौ  देखि १२ क्वीन्टलसम्म मह उत्पादन हुने र त्यसबाट आठ लाख बढी आम्दानी गरिरहेको उनले बताए।    

शुरूमा मह उत्पादन भए पनि बजारको समस्या थियो । अहिले त्यो समस्या समाधान भएको छ । उत्पादित मह बिक्री हुने गरेको छ । मौरीलाई दैनिक स्याहार्नु पर्दैन । चार/पाँच दिनमा घारको अवस्था, मौरीको सक्रियता, खानको लागि फूलको रस पुगेको छ कि छैन, रोग लागेको छ कि छैन भनेर निगरानी गर्दा हुने उहाँको भनाइ छ । 

भट्टराईले युरोपेली मेलिफेरा जातको मौरीपालन गरिरहेका छन् । यो जातको मौरी रोगप्रतिरोधी हुने र मह उत्पादन धेरै गर्छ । घारलाई भने घाम लाग्ने पारिलो ठाउँमा ठाउँमा राख्नुपर्छ । 

मौरीलाई फूल फुल्ने बोटबिरुवा पानीको स्रोत हुनुका साथै शान्त वातावरण आवश्यक पर्छ । त्यसैले एकदेखि दुई महिनामा स्थान परिवर्तन गराइदिने गर्नुपर्छ । 

भट्टराईको फार्ममा उत्पादित मह स्थानीय बजारका साथै विराटनगर, दमक  र काठमाडौंसम्म बिक्री हुने गर्छ । 'अनलाइन अर्डर हुँदा कुरियर गरेर पठाउने गरेको छु,' भट्टराईले भने, 'महको मूल्य गुणस्तर, स्वाद साथै खर्च हेरेर निर्धारण गरिन्छ, । मैले धेरै जसो तोरी बारीमा, आँप, लिची, सूर्यमुखी फूललगायत बगानमा सिजनअनुसार मौरी चराउन लाने गरेको छु । अहिले प्रतिकेजी एक हजारमा मह बिक्री गर्दै आएको छु । महसँगै १० हजारका दरले मौरीसहितको घारसमेत बिक्री गर्दै आएको छु ।'

इटहरी उपमहानगरपालिकाले वर्षमा केही उपकरण र घार अनुदान दिएको छ । यसलाई अझ व्यवस्थित गर्न बजारको अध्ययनसँगै आधुनिक प्रविधिको घार, मौरीपालन सीपका लागि सरकारबाट सहयोग भएमा आम्दानीको राम्रो सम्भावना रहेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्