
काठमाडौं, १४ मंसिर — खानामा फाइबर हुनु जरूरी हुन्छ । त्यसैले फाइबर प्रशस्त भएको खानेकुरा लिनु आवश्यक हुन्छ । महिलाहरूका लागि दिनदिनै खानामा २५ ग्राम फाइबर जरूरी हुन्छ भने पुरुषका लागि ४० ग्राम फाइबर चाहिन्छ ।
आहारमा फाइबर कम हुँदा कब्जियतको समस्या हुन्छ र शरीरमा पानीको पनि कमी हुन्छ । अनि रगतमा चिनी र कोलेस्ट्रोलको स्तर बढ्छ । आन्द्रालाई पीडा हुन्छ ।
फाइबरको कमी हटाउनका लागि आहारमा यी भोज्यपदार्थहरू संलग्न गर्नुपर्छ ।
दाल
दालमा प्रशस्त फाइबर हुन्छ र यसले तपाईंको पाचनप्रणालीलाई दुरुस्त राख्छ । कब्जियतको समस्या पनि हुन पाउँदैन ।
मकै
प्रचूर मात्रामा फाइबर चाहिएमा मकै सेवन गर्न थाल्नुस् । एउटा मकैले चार ग्राम फाइबर दिलाउँछ ।
हरिया सागपात
हरिया सागपातमा फाइबर प्रचूर मात्रामा हुन्छ । दिनदिनै हरिया सागपात खाने गर्नुस् ।
फल
स्याउ र नास्पाती जस्ता फललाई बोक्रैसहित खाँदा शरीरलाई पानीका साथै फाइबर पनि प्रचूर मात्रामा प्राप्त हुन्छ । बिहानै फलको सेवन गर्दा बढी फाइदा हुन्छ । फलको रस पनि स्वास्थ्यका लागि राम्रो हुन्छ तर फाइबर धेरै चाहिएमा फल खानु नै राम्रो विकल्प हो ।
ब्राउन राइस
भात खान मन पर्छ भने सेतो चामलको ठाउँमा ब्राउन राइस खान शुरु गर्नुस् । रोटी पनि आँटाकै खानुस्, मैदाको होइन । यसले शरीरमा नोक्सानी हुनबाट बचाउँछ ।
ओटमील
ओटमीलमा भएको बीटा–ग्लुकोनले विशेष प्रकारको फाइबर दिन्छ । यसले शरीरमा फाइबरको कमी हटाउँछ र कोलेस्ट्रोल स्तर पनि नियन्त्रणमा राख्छ अनि शरीरको रोगप्रतिरोधक क्षमता बढाउँछ ।
निरोगी रहनका लागि फाइबरयुक्त खाद्यपदार्थमा जोड दिनुहोस् ।
एजेन्सी