
सातै प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीको सहभागितामा महोत्तरीको बर्दिबासमा ‘सङ्घीयतामा पूर्वाधार विकासको महत्त्व, सम्भावना र चुनौती तथा अन्तरप्रदेशीय एकता र भिन्नता’ विषयक दुई दिने कार्यक्रम आजदेखि शुरू भएको छ ।
मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा शुरू भएको यस कार्यक्रममा सातै प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीहरूले आ–आफ्ना प्रदेशका विकासका अभ्यासहरू, सम्भावना र चुनौतीहरू साटासाट गर्नुका साथै एक प्रदेशले अर्को प्रदेशलाई के–कसरी सहयोग गर्न सकिने भन्ने विषयहरूमा छलफल भइरहेको छ ।
संघीय सरकारका भौतिक पूर्वाधार विकासमन्त्री देवेन्द्र दाहाल, मधेश प्रदेशका सरकारका मुख्यमन्त्री सतिशकुमार सिंह र भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका हुन् ।
सात वटै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवहरूसमेत उपस्थित भएर आ–आफ्ना प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सञ्चालित योजना तथा कार्यक्रमहरूको दस्तावेज प्रस्तुत गरेका छन् ।
विभिन्न प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीहरूले यस कार्यक्रमले सात वटै प्रदेश सरकारलाई एक आपसमा जोड्ने काम गरेको, प्रदेश सरकारलाई बलियो बनाउने प्रयास गरेको तथा एक आपसमा भए/गरेका कामहरूको अनुभव, चुनौती तथा सम्भावनाहरूलाई साटासाट गरेर आउँदा दिनमा थप प्रभावकारी रूपमा काम गर्ने वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरे ।