
भारतको जम्मू-कश्मीरस्थित पहलगाममा वैशाख ९ गते नेपाली युवा सुदीप न्यौपानेसहित २६ जना हिन्दू नागरिकको हत्या गरिएको विरोधमा सोमबार पनि काठमाडौंमा प्रदर्शन भएको छ ।
सोमबार दिउँसो काठमाडौंमा रहेको पाकिस्तानी दूतावास अगाडि युवाहरूले भेला भएर प्रदर्शन गरेका हुन् । आतंकवादीले हत्या गरेका नेपाली युवा न्यौपानेको तस्वीरसहित युवाहरूले प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीले ‘हिन्दू विरोधी आतंक बन्द गर’ भन्ने नारा लगाएका थिए । पहलगाम हत्याको विरोधमा यसअघि शनिबार पनि काठमाडौंमा विरोध प्रदर्शन भएका थिए । नेपाल नागरिक अभियानले आयोजना गरेको प्रदर्शनमा सयौं नागरिक सहभागी भएका थिए ।
सोमबारको प्रदर्शनमा पनि प्रदर्शनकारीले कालो ब्यानरमा ‘पाकिस्तानका सेना प्रमुखको हिन्दू विरोधी मन्तव्य मुर्दावाद’ लेखेर प्रदर्शन गरेका छन् । हिंसा भड्काउनमा पाकिस्तानका सेना प्रमुख जनरल असीम मुनीरले दिएको हिन्दू विरोधी अभिव्यक्ति कारक रहेको भन्दै उनको तस्वीरसहित प्रदर्शन गरिएको आयोजकले बताएका छन् ।
गत अप्रिल १६ मा इस्लामावादस्थित एक प्रशिक्षण कार्यक्रमको समापनमा दिएको वक्तव्यमा उनले हिन्दू धर्म र हिन्दू सभ्यतामाथि प्रश्न उठाएका थिए ।
पहलगाम घटनाको नेपालको संसद्मा समेत विरोध भएको छ । आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समय, शून्य र विशेष समयमा सांसदहरूले पहलगाममा हिन्दू मारिएको घटना आतंकवाद भएको भन्दै निन्दा गरेका थिए ।