
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले भारत सरकारबाट नेपालका प्रतिगामी शक्तिहरूलाई उक्साउने गतिविधि नभएको बताएका छन् ।
मंगलबार भारत भ्रमणबाट स्वदेश फर्किएका डा.भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भारत सरकार र भारतका मुख्य शक्तिहरूबाट यहाँको व्यवस्थालाई नै उल्ट्याउने ढंगले प्रतिगामी शक्तिहरूलाई उक्साउने गतिविधिमा नभएको बताएका हुन् ।
उनले भने, ‘भारतमै चासो भएको विषय के रहेछ भने जुन भिन्न प्रकृतिका आन्दोलन भइरहेका छन् । त्यो कतै व्यवस्थाकै विरुद्धमा जाने आन्दोलन त होइन यो यसले लोकतन्त्रलाई नै प्रतिकुल असर पर्नेगरी पछाडि फर्कने ढंगले त जाँदैन भन्ने आशङ्का चाहिँ रहेछ । हाम्रो व्यवस्था सुरक्षित छ भन्ने विश्वास गराएको छु ।’
पूर्वप्रधानमन्त्री समेत रहेका उनले नेपाल भारतको सम्बन्धको ऐतिहासिकतालाई कुनै पनि ढंगले अल्झिएर समय खेर नफाली वार्ताबाट समस्या हल गरेर जानुपर्ने बताए । उनले समस्याहरू समाधान गर्न इपिजीले काम गर्न सकेको र नयाँ विधि अपनाएर समस्या समाधान गर्नुपर्ने कुरामा जोड दिएको बताए ।