
जिल्ला प्रशासन कार्यालय पर्साले नागरिकको स्वास्थ्य र दैनिकीसमेत प्रभावित हुनेगरी विवाह, व्रतबन्ध तथा धार्मिक/सांस्कृतिक कार्यक्रममा प्रयोग हुने डिजेलगायत उपकरण प्रयोगलाई निरुत्साहित गर्न अनुरोध गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको अध्यक्षतामा बुधबार बसेको बैठकले ध्वनि प्रदूषणका गतिविधि निरुत्साहित गर्न आह्वान गरेको हो ।
'सांस्कृतिक कार्यक्रममा गरिने आतिसबाजी र पटाकाको प्रयोगलाई पूर्ण रूपले प्रतिबन्ध लगाउने निर्णय भएको छ,' उनले भने, 'यो निर्णयविरुद्ध कार्य गर्ने/गराउनेलाई कानुनको दायरामा ल्याइनेछ । सीमावर्ती क्षेत्रबाट हुने पटाका, डिजेलगायतका उपकरणको प्रवेशलाई कडाइका साथ नियमन गरिनेछ ।'
बैठकले होटल, क्याटरिङ र पार्टी प्यालेसमा प्रयोग गरिने डिजेलगायत उपकरणको प्रयोगलाई रातको १० बजेपश्चात् पूर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णय पनि गरेको छ ।
प्रशासनले विवाह, व्रतबन्ध तथा धार्मिक/सांस्कृतिक कार्यक्रमको बुकिङ गर्दा सम्बन्धित होटल/पार्टी प्यालेसले आयोजकसँग डिजे, पटाकाको प्रयोगलाई पूर्ण बन्देज लगाइएको विषय खुलाई सो बेहोराको सहमतिपत्रमा हस्ताक्षर गराएर मात्र बुकिङ गर्ने निर्णय गरेको प्रजिअ अर्यालले जानकारी दिए।
साथै, यस क्षेत्रका व्यवसायीहरूले नेपाल सरकारलाई बुझाउनुपर्ने राजस्व र बक्यौता रकम नियमित रूपमा बुझाउने र सोको सूक्ष्म अनुगमन गरी कारबाहीको दायरामा ल्याउने पनि निर्णय भएको छ ।
जिल्ला प्रहरी प्रमुख गौतम मिश्रले ऐन कानुनविपरीत पटाका तथा आतसबाजी गर्नेलाई विस्फोटक पदार्थ ऐनबमोजिम कारबाहीको दायरामा ल्याइने जानकारी दिए ।
होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगञ्जका अध्यक्ष हरि पन्तले विवाह तथा अन्य सांस्कृतिक कार्यक्रममा बजाइने डिजेलाई व्यवस्थित गर्न आवश्यक भएको बताए ।
यहाँका सिटी पार्टी प्यालेसका सञ्चालकहरूले बजाउन अनावश्यक दबाब आउने गरेकाले त्यस्ता गतिविधिलाई पनि निरुत्साहित गरिनुपर्नेमा उनले जोड दिए ।