
हाल कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भएको भैरहेको छ । काठमाडौं उपत्यकामा पनि बिहानैदेखि हल्का वर्षा भैरहेको छ । पछिल्लो एक घन्टामा गोरखाको आरूघाटमा १९ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भू-भागका थोरै स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा र हिमपात पनि हुने महाशाखाले जनाएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
राति देशको पहाडी भू-भागका एक -दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा राति पनि हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको विभागले जानकारी दिएको छ ।