२८ जेठ २०८३, बिहीबार

सिञ्जामा घरको बीमा गरिँदै

बैशाख १८, २०८२
जुम्ला
सिञ्जामा घरको बीमा गरिँदै

जुम्लाको सिञ्जा गाउँपालिकाले दुई हजार ४०० घरको घर बीमा गर्ने भएको छ । कर्णाली प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत विपद् जोखिम बिमा कार्र्यक्रममा छनोट भएपछि उनका घरको बिमा गर्न लागिएको हो । 

गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सोही कार्यक्रमअनुसार दुई हजार ४०० घरको बीमा गर्न लागिएको जानकारी दिए । गत चैत २५ गते उक्त कार्यक्रमका लागि मन्त्रालयले स्थानीय तहलाई १५ दिनको समय दिएर बीमा गर्ने विषयमा सहभागी हुन सूचना प्रकाशन गरेकामा सिञ्जा तोकिएको मापदण्डअनुसार छनोटमा परेको उनले बताए । 

अध्यक्ष धितालले भने, 'कार्यक्रमका लागि मन्त्रालयले अधिकतम प्रतिघर २० लाखको बिमाङ्क बराबरको जोखिम मूल्याङ्कनबाट हुन आउने बिमा शुल्कबापतको रकम भुक्तानी गरिदिने व्यवस्था गरेको छ । बिमा लागू भएपछि भूकम्प, आगलागी, बाढी तथा डुबान, हावाहुरीलगायत विपद्बाट क्षतिग्रस्त भएका घरको बिमामार्फत क्षतिपूर्ति पाउने छन् । एक परिवारका लागि एक घरको बिमा शुल्क प्रदेश सरकारले भुक्तानी गरिदिने व्यवस्था गरिएको छ ।'

कर्णालीका निजी तथा आवासीय घरमा विभिन्न विपद्बाट हुने क्षतिबाट बचाउन प्रदेश सरकारले घर बिमा कार्यक्रम सुरु गरेको हो । जसका लागि घर बिमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०८१ कार्यान्वयनमा ल्याइएको छ  । 

चालु आवमा बिमाका लागि प्रदेश सरकारले रु चार करोड ७५ लाख बजेट छुट्याएको कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्